कपिलवस्तुको बाणगंगा नगरपालिका–४ सिद्धिपुरस्थित होराइजन इङ्लिस बोर्डिङ स्कुलको कम्पाउन्डभित्र स्कुल भ्यानले ठक्कर दिँदा एक विद्यार्थीको मृत्यु भएको छ।
बिहीबार दिउँसो करिब २ बजे विद्यालय परिसरको चौरतर्फ हिँडिरहेको अवस्थामा सोही स्कुलको लु.प्र. ०१–००१ क ०३६३ नम्बरको इभी भ्यानले ठक्कर दिँदा कक्षा १ मा अध्ययनरत ७ वर्षीय प्रियान्स खनालको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुले जनाएको छ। भ्यान २६ वर्षीय चालक विजय सारुले चलाइरहेका थिए।
ठक्करपछि बालकको अनुहार र पेटमा गम्भीर चोट लागेपछि उनलाई भैरहवा मेडिकल कलेजमा प्रारम्भिक उपचार गराइ थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर रेफर गरिएको थियो। चिकित्सकले मध्यरातमा प्रियान्सलाई मृत घोषित गरे।
प्रहरीले जनाएअनुसार भ्यानका चालक विजय सारु र दुर्घटनामा संलग्न इभी भ्यान प्रहरी नियन्त्रणमा छन्। इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक अर्जुन पौडेलले यो जानकारी दिए। विद्यार्थीको निधनपछि विद्यालयले आज शोक बिदा दिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित: १२ मंसिर २०८२ १२:३६ शुक्रबार





