पर्साको पकहामैनपुर गाउँपालिका १ स्थित धोरे–सिधौलिया सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते भएका छन्।
बिहीबार परेको वर्षासँगै चट्याङ पर्दा स्थानीय ५५ वर्षीया शान्तिदेवी सहनी, ५५ वर्षीया राधिका देवी सहनी, ५५ वर्षीया रिता देवी सहनी, ५२ वर्षीया कुश्मी देवी सहनी, ४२ वर्षीया सन्ध्या देवी, ३५ वर्षीया प्रमिला सहनी र ३५ वर्षीया संगीता देवी घाइते भएको प्रहरीले जनाएको छ।
घटनापछि घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि अस्पताल लगिएको थियो। घाइतेमध्ये शान्तिदेवी सहनीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ र उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
अन्य छ जनाको भारतको रक्सौलस्थित डंकन अस्पतालमा उपचार भइरहेको छ। उपचाररतमध्ये कुश्मी देवी सहनीको अवस्था गम्भीर रहेको र बाँकी पाँच जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ३२ असार २०८३ १२:५९ बिहीबार





