नेपालगन्ज विमानस्थलको नवनिर्मित टर्मिनल भवनबाट अबको १० दिनभित्रै सेवा सञ्चालन हुने भएको छ। नागरिक उड्डयन प्राधिकरणका अनुसार सुरुमा परीक्षणकालीन सेवा सञ्चालन गरिने र त्यसको करिब डेढ महिनापछि पूर्ण रूपमा नियमित सेवा सुरु गरिने तयारी भइरहेको छ।
साढे दुई अर्ब रुपैयाँ लागतमा बनेको उक्त टर्मिनल भवन सम्झौताअनुसारको म्यादभन्दा डेढ महिना अगावै सम्पन्न भएको हो। स्वदेशी ठेकेदार, परामर्शदाता र इन्जिनियरको सहकार्यमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार भवन निर्माण गरिएको प्राधिकरणले जनाएको छ।
सन् २०२२ डिसेम्बर १६ मा ‘शर्मा एण्ड कम्पनी’सँग सम्झौता गरी सुरु गरिएको काम सन् २०२५ डिसेम्बर १५ सम्म पूरा गर्ने लक्ष्य थियो। कुल ५५ हजार वर्गफुट क्षेत्रफलमा बनेको भवनमा प्रतिघण्टा ६९८ जना यात्रु बस्न सक्ने क्षमता रहेको छ।
अण्डरग्राउण्डसहित तीनतल्ले भवनमा यात्रु कक्ष, प्रशासनिक कक्ष, विमान कम्पनी कार्यालय, भन्सार, अध्यागमन, क्वारेन्टाइन, व्यापारिक सटर, रेस्टुरेन्ट, शौचालय लगायतका सुविधा छन्। बाहिरी भागमा सवारी र विमान पार्किङ, ढल व्यवस्थापन, बगैचा, फुटपाथ र गेष्ट हाउस पनि तयार पारिएको छ।
भारतका सहरमा पनि उडानको तयारी
नवनिर्मित टर्मिनल भवन निरीक्षणका लागि शुक्रबार नेपालगन्ज पुगेका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सम्झौताअवधि पूरा हुनुभन्दा पहिले नै काम सम्पन्न भएको जनाउँदै सो भवनबाट आन्तरिकका साथै भारतका सहरहरूमा पनि उडान गर्न सकिने जानकारी दिए।
‘नेपालगन्जबाट दिल्लीलगायत भारतका सहरहरूमा उडानको माग बढ्दो क्रममा छ,’ उनले भने, ‘यस भवनमा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक सबै पूर्वाधार तयार छन्। अहिले आन्तरिक उडानका लागि प्रयोग भए पनि अनुमति प्राप्त भएपछि अन्तर्राष्ट्रिय उडान गर्न सकिन्छ।’
उनका अनुसार तत्कालका लागि एटिआर–७२ वा सो सरहका विमानमार्फत अन्तर्राष्ट्रिय उडान सम्भव छ। नेपालगन्जको नयाँ टर्मिनल भवनमा पोखरा र भैरहवाका भवनभन्दा बढी सुविधा प्रदान गरिएको उनले बताए।
स्वदेशी हातले बनेको आधुनिक टर्मिनल
आयोजनाका प्रमुख नलबिक्रम थापाका अनुसार भवन डिजाइनदेखि परामर्श र निर्माणसम्म पूर्ण रूपमा स्वदेशी प्राविधिकको सहभागिता रहेको छ।
‘बोर्डिङ पास गरेर बसेपछि यात्रुले भित्रै मनपर्ने खानेकुरा खान पाउने, सपिङ कम्प्लेक्सजस्तै किनमेल गर्न सक्ने, र छुट्टै ठाउँमा बसेर ल्यापटपमा काम गर्न सक्ने सुविधा दिएका छौं,’ उनले भने।
ठेकेदार कम्पनीका प्रमुख रमेश शर्माले सम्झौता अवधिभन्दा अघि काम सम्पन्न गर्नुका साथै गुणस्तरमा कुनै सम्झौता नगरेको दाबी गरे।
‘हामीले नेपाली ठेकेदारप्रतिको विश्वास कायम राख्नेगरी काम गरेका छौं,’ उनले भने, ‘यसअघि बाँकेमा नेपालगन्ज–गुलरिया सडक खण्ड पनि म्यादअघि नै सम्पन्न गरेर सफलताको उदाहरण देखाएका थियौं।’
प्रकाशित: २१ कार्तिक २०८२ २०:५५ शुक्रबार





