परिवारजनबिच बढ्दै गएको असमझदारीले ज्यानसम्बन्धी गम्भीर अपराध निम्त्याउने गरेको छ। घरेलु झैझगडाका कारण परिवारका सदस्यकै ज्यान लिने अपराध कर्म हुन थालेपछि बाहिरी व्यक्ति वा समूहभन्दा परिवारकै सदस्यबाट असुरक्षा बढ्दै गएको छ। घरेलु विवाद, मदिरा सेवन, अनैतिक यौन सम्बन्ध, शंका–उपशंका नै यसको प्रमुख कारक रहेको बताइन्छ।
पछिल्लो एक महिनामा अर्घाखाँचीमा तीन जनाको हत्या परिवारजनबाटै भएको छ। असार १ गते छत्रदेव गाउँपालिकामा पत्नीले पतिको ज्यान लिइन्। छत्रदेव गाउँपालिका–३ दुन्द्रुक सिख्रे बस्ने २७ वर्षीया मेखमाया कुमालले ३८ वर्षीय पति रामु कुमालको धारिलो हतियार (दाउ) प्रहार गरी हत्या गरेकी थिइन्।
मेखमायाले घरायसी विवादमा सामान्य झैझगडा गरेर सँगै सुतेका पतिको टाउकोमा राति साढे १२ बजे दाउ प्रहार गरेको बयान दिएकी छन्। झगडाको प्रमुख कारण परपुरुषसँगको सम्बन्ध रहेको भनिएको छ।
त्यस्तै असार १२ गते शीतगंगा नगरपालिका–६ जुकेना पाखापानीका ४२ वर्षीय टेकबहादुर बादीले सहोदर भाइ ३२ वर्षीय बोमबहादुरको बन्चरो प्रहार गरी हत्या गरे। सँगै बसेर मदिरा सेवन गरिरहेका दाजुभाइबिच चुरोटको विषयमा विवाद सुरु भएको थियो। उक्त विवाद उग्र बन्दै हत्यासम्म पुग्यो । चुरोटका विषयमा सुरु भएको विवाद देवर–भाउजूको अनैतिक सम्बन्धसम्म पुगेको बताइन्छ।
त्यसैगरी असार २६ गते सन्धिखर्क नगरपालिका–१२ डिभर्ना बाँझखर्कमा ७२ वर्षीय जंगबहादुर नेपालीको हत्या झड्केला छोरा बुद्धिबहादुर नेपालीले गरे। धारिलो हतियार प्रहार गरी जंगबहादुरको हत्या गरिएको हो।
हत्यापछि घटना लुकाउन बुद्धिबहादुरले शव मलखादमा गाडेका थिए। मदिरा सेवन गरेर घरमा पुगेका उजले बुवासँग झगडा गरेका थिए। झगडाले उग्र रूप लिएपछि उनले बुवामाथि कुटपिट गर्दा ज्यान गएको थियो। यो घटनामा आपसी मेल नहुनु नै कारण देखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ।
यी तीन प्रतिनिधि घटना हुन्। अर्घाखाँचीमा पछिल्ला तीन वर्षमा भएका दर्जनौं हत्यामध्ये अधिकांश परिवारजन र आफन्तबाटै भएको देखिन्छ। मानिसले आफूलाई सबैभन्दा सुरक्षित ठान्ने परिवार, आफन्त र निकटस्थ नै हुन्। तर विभिन्न बहानामा सुरु हुने असमझदारी आवेशमा परिणत भई भौतिक आक्रमणसम्म हुँदा जघन्य अपराध भएका छन्।
२०७९ कात्तिक ४ गते वृद्ध भत्ता बुझेर आएका सहोदर दाजुले भाइलाई भिरबाट धकेले। भूमिकास्थान–१ ढाकाबाटमा ७४ वर्षीय दाजुले ७० वर्षीय भाइको पैसा हत्याउन ज्यान लिएका थिए।
२०८१ कात्तिक २८ गते शीतगंगामा मामाले भान्जाको हत्या गरेका थिए। शीतगंगा–६ सानाढुंग्रेमा मामा–भान्जाले सँगै बसेर मदिरा सेवन गरिरहँदा झगडा हुँदा ३५ वर्षीय भान्जाको हत्या ५३ वर्षीय मामाले गरेका थिए।
मदिरा सेवन र अनैतिक सम्बन्ध आफन्तबाट असुरक्षित हुनुका प्रमुख कारक रहे पनि असमझदारी, प्रलोभन, पारिवारिक सम्बन्ध सुमधुर हुन नसक्नु, एक अर्काप्रति विश्वास गुम्नु तथा आपसमा बेमेलको वातावरण सिर्जना हुँदा घरभित्रै अपराधका घटना हुने गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख (डिएसपी) चक्रबहादुर मल्ल बताउँछन्।
‘धेरै कारण छन्, जसले गर्दा परिवार र आफन्तबाटै अपराध बढाइरहेको छ,’ उनले भने, ‘परिवारभित्रको हत्यालगायत जघन्य अपराध रोकथाम र न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रमहरू गरिराखेका छौं।’
परिवारभित्रबाट हुने हिंसा र जघन्य अपराध रोक्न एक्लो व्यक्ति वा संस्थाबाट मात्र सम्भव नभएकाले समाजमा बस्ने सबैको उत्तिकै दायित्व रहेको अधिवक्ता जगन्नाथ भुसालले बताए।
स्थानीय पालिका, प्रहरी, सामाजिक संघसंस्था, विद्यालय र अन्य सरोकारवालाहरूको सामूहिक प्रयासबाट मात्र यसको न्यूनीकरण सम्भव रहेको उनले बताए।
प्रकाशित: ८ श्रावण २०८२ २१:५८ बिहीबार





