समयमै सामाजिक सुरक्षा भत्ता वापतकाे रकम पाउँदा शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीकी ७३ वर्षीया मनादेवी साउद अत्यन्तै खुसी भएकी छन्। भत्ताको रकम हातमा परेपछि उनले मीठोमसिनो खाने, नयाँ लुगा किन्ने र छोरीलाई दानदक्षिणा गर्ने योजना बनाएकी छन्। “दसैँमा भत्ता नपाउँदा सरसापट गरेरै मनाएका थियौं, यो तिहारमा भने नगरपालिकाले बैंक खातामा रकम पठाइदिंदा रमाइलो भयो”, उनले हाँस्दै भनिन्।
सोही वडाका ७५ वर्षीय करवीर साउदले पनि भत्ता रकम पाउँदा सहज महसुस भएको बताए तर बैंकसम्म पुग्दा भने कठिनाइ झेल्नुपरेको उनको भनाइ छ। “कच्ची सडकमा झण्डै सात किलोमिटरको बाटो अटोको सय रुपैयाँ भाडा तिरेर बैंक पुगे, बैंकमा हुने भिडभाडले पालो पर्खनमै घण्टौं लाग्छ”, उनले भने, “पहिलाझैं वडामै भत्ता वितरणको व्यवस्था भए अझै सजिलो हुन्थ्यो।”
नगरपालिकाका–११ वटा वडाका ज्येष्ठ नागरिकसहितका लाभग्राहीले भत्ता पाए पनि वडा नं २ का लाभग्राही भने अझै रकम पाउन सकेका छैनन्। भत्ता पाउने व्यक्तिको विवरण बैंकमा पठाउन छुटेकाले रकम झण्डै रोकिन पुगेको बताइएको छ।
वडा नं २ का ७१ वर्षीय धनिराम चौधरी भत्ता पाउने आसमा अटो भाडा तिरेर बैंक पुगेका थिए तर रकम नपाएपछि उनी रित्तो हात फर्किन बाध्य भए। “छिमेकीबाट अटो भाडा सरसापट गरेर दुवै दम्पती बैंक पुग्यौं”, उनले भने, “नगरपालिकाबाट समयमै पैसा नपठाउँदा निराश भएर फर्किन बाध्य भयौं।”
नगरपालिकाको सूचना प्रविधि शाखाका अधिकृत लोकराज भट्टका अनुसार तिहारलाई लक्षित गर्दै सामाजिक सुरक्षा अन्तर्गतका पाँच हजार २१३ जना लाभग्राहीको भत्ताको रकम बैंक खातामा पठाइएको बताए। उनका अनुसार लाभग्राहीमध्ये अन्य ज्येष्ठ नागरिक दुई हजार ६५०, ज्येष्ठ दलित २९७, ज्येष्ठ एकल महिला ४३०, विधवा ८७२, पूर्ण अपाङ्गता भएका ११९, अतिअशक्त अपाङ्गता भएका २७४ र दलित बालबालिका ५७१ जना छन्।
प्रकाशित: ५ कार्तिक २०८२ ०९:४७ बुधबार





-600x400.jpg)