संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा आरोहण मार्ग अत्यधिक जोखिमपूर्ण बन्दै गएको निष्कर्षसँगै सुरक्षित वैकल्पिक मार्गको खोजी र अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
मन्त्रालयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको उपस्थितमा भएको छलफलमा खुम्बु आइसफल हुँदै क्याम्प–१ सम्म जाने हालको परम्परागत मार्ग आरोहीहरूका लागि अत्यन्त जटिल र खतरनाक रहेकाले यसको विकल्प खोज्नु आजको आवश्यकता भएको निष्कर्ष निकालिएको छ।
मन्त्री पाण्डेले बैठकमा भने, ‘सगरमाथा हाम्रो राष्ट्रिय गौरवको प्रतीक हो। हरेक वर्ष यहाँ हजारौं विदेशी र नेपाली आरोहीको चाप रहन्छ। उनीहरूको जीवनरक्षाका लागि हामीले सुरक्षित, वातावरणमैत्री र दीर्घकालीन समाधानको मार्ग खोज्नुपर्छ।’ उनले थपे, ‘अबको रणनीति जोखिम घटाउने मात्र होइन, सम्पूर्ण आरोहण प्रणालीलाई व्यवस्थित, अनुशासित र विश्वसनीय बनाउनेतर्फ केन्द्रित हुनुपर्छ।’
बैठकमा प्रसिद्ध फ्रेन्च पर्वतारोही मार्क मारी बटार्ट र नेपाली स्पिड आरोही काजी शेर्पाले हालसम्म आफूहरूले गरेको वैकल्पिक मार्गको खोज, सर्वेक्षण र फोटोग्राफिक दस्तावेजहरूको बारेमा विस्तृत जानकारी प्रस्तुत गरे।
बटार्ड र शेर्पा सन् २०१८ देखि नयाँ मार्ग पहिचानको अभियानमा क्रियाशील छन् भने २०८१ सालमा पनि उनीहरूले नेपाल सरकारको समन्वयमा परीक्षण आरोहणमार्फत नयाँ सम्भावनाहरूको अध्ययन गरे।
प्रकाशित: २ श्रावण २०८२ २०:२८ शुक्रबार





