आईतबार बिहान त्रियुगा नगरपालिका १० बोक्सेस्थित हिमालयन बोर्डिङका सञ्चालकको घरमा आगलागी हुँदा ५० लाख भन्दाबढीको क्षति भएको छ । बिहान लागेको आगो मध्यान्हमा मात्र नियन्त्रणमा आएको थियो भने प्रहरीले क्षतिको विवरण संकलन गरी सार्वजनिक गरेको हो ।
भुईतला इटा सिमेन्ट तथा पहिलो तला काठबाट बनेको टायलको छानोवाल १० कोठे घर जल्दा त्यसभित्र रहेका सम्पूर्ण धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भुईतलाका सबै कोठा विद्यालयले प्रयोग गर्दै आएको थियो भने माथिल्लो तलामा खत्री दम्पति बस्दै आएका थिए । जलेको घरसँगै निर्मित आरसिसी पक्की भवनहरु भने सुरक्षित गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केदारमान दोङले बताएका छन् ।
काठको घरमा आगो लागेको जानकारी पाएलगत्तै खटेको प्रहरी टोलीले सेना, सशस्त्र र दमकल झिकाएर जोडिएका घरहरुमा आगो लाग्नबाट बचाएको डिएसपी दोङले बताए ।
आगोले विद्यालयको फर्निचर, पुस्तकालय तथा विभिन्न खाले शैक्षिक सामग्री नष्ट भएका छन् । त्यसैगरि खत्री दम्पतिले प्रयोग गर्दै आएको लुगाफाटा, सुनचाँदीका गरगहना र भाँडाकुँडा, अन्नपात सबै जलेको छ ।
प्रहरीले सङ्कलन गरेको सर्जमिन मुचुल्कामा आगोले घरभित्र राखेको २ तोला सुन, १ सय ५० तोलाको चाँदीको करुवा र ४५ तोलाको चाँदीकै खरकुँडा, भाँडाकुडा, ग्यास सिलिण्डर, फर्निचर, वासिङ मेसिन, लुगाफाटा र अन्य सामान जलेको उल्लेख छ ।
प्रकाशित: १४ मंसिर २०८२ १६:५६ आइतबार





