चितवनमा शनिवार आपराधिक घटना कम हुने गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले गत आर्थिक वर्ष २०८१/०८२ मा गरेको विश्लेषण अनुसार शनिवार आपराधिक घटना न्यून भएका हुन् ।
‘अधिकांश मानिसहरू शनिवार घरमा बस्ने हुँदा चोरी लगायतका आपराधिक घटना ज्यादै कम भएका छन्, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी उपरीक्षक गोविन्द गिरीले भने ‘अपराध गर्ने मानिसहरूले पनि सार्वजनिक बिदाको दिन छुट्टी मनाउने जस्तो देखियो ।’ प्रहरी उपरीक्षक गिरीका अनुसार एक वर्षको अवधिमा भएका एक हजार ७६५ आपराधिक घटना मध्ये शनिवार १ सय ८० वटा आपराधिक घटना भएका छन् । यो अन्य बारको तुलनामा ज्यादै न्यून हो ।
बुधवार सबैभन्दा बढी २९९ वटा आपराधिक घटना भएका छन् । त्यस्तै आइतबार २८५, बिहीबार २७४, सोमबार २५६, मंगलबार २४७ र शुक्रबार २२७ वटा आपराधिक घटना भएको उनले जानकारी दिए । अधिकांश आपराधिक घटना दिउँसो बढी भएका छन् । दिउँसो १२ बजेदेखि बेलुका ६ बजेसम्म ६११ वटा घना भएका छन् । बिहान र दिउँसोको तुलनामा राती आपराधिक घटना न्यून भएको देखिन्छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले आपराधिक घटना हुने महिना समेत विश्लेषण गरेको छ । प्रहरीका अनुसार असार महिनामा सबैभन्दा बढी आपराधिक घटना भएका छन् । यो महिनामा २०५ वटा घटना भएका छन् । त्यसपछि क्रमशः जेठमा १७३, साउन महिनामा १७२, भदौमा १६४, पौषमा १५६, कार्त्तिकमा १५६, वैशाखमा १४१, चैतमा १३६, असोजमा १३१, माघमा ११८, मङ्सिरमा ११३ र सबैभन्दा कम फागुन महिनामा ९९ वटा आपराधिक घटना भएका छन् ।
चितवनमा आपराधिक घटना समेत बढ्दै गएको छ । प्रहरीले मुद्दा दर्ता विवरणलाई हेर्दा पछिल्ला तीन वर्षमा निरन्तर बढेको छ । आव २०७९/०८०मा एक हजार ५३६ मुद्दा दर्ता भएकोमा गत आव २०८१/०८२मा एक हजार ७६५ वटा मुद्दा दर्ता गरेको छ । त्यसको अघिल्लो आव २०८०/०८१मा एक हजार ६२८ मुद्दा दर्ता भएको थियो । चितवनमा सबैभन्दा बढी संगठीत तथा आर्थिक अपराध बढी भएका छन् । एक वर्षको अवधिमा संगठीत तथा आर्थिक अपराध ५५६ वटा भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । त्यसपछि सामाजिक अपराध ३४९, ज्यान सम्बन्धी मुद्दामा २९५, आत्महत्या सम्बन्धी १९३, चोरी सम्बन्धी १४८ लगायतका मुद्दा रहेका छन् ।
गत आवमा एक हजार ८९२ जनालाई अभियुक्त बनाइएको छ । त्यसमध्ये २३ पुरुष र १ महिला गरी २४ जना विदेशी नागरिक छन् । त्यस्तै एक हजार ६९६ स्वदेशी पुरुष र १७१ स्वदेशी महिला र एक समलिंगी समेत आपराधिक कार्यमा संलग्न रहेको प्रहरीले आरोप लगाएको छ । घटनामा संलग्न मध्ये एक हजार ३९५ पक्राउ परेका छन् ।
प्रकाशित: ११ श्रावण २०८२ १९:४५ आइतबार





