नेकपा (माओवादी केन्द्र)को युवा दस्ता योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल, उदयपुरले बिहीबार सदरमुकामस्थित थरुहट रङ्गशाला परिसर सफा गरेको छ। वाईसिएल उदयपुरले आयोजना गरेको ‘श्रम तथा उत्पादनमा वाईसिएल’ अभियान उद्घाटनका क्रममा गाईघाटस्थित रङ्गशाला परिसर सरसफाइ गरिएको हो।
सरसफाइ अन्तर्गत रङ्गशालाको फुटबल खेल मैदान वरिपरिको नाली सफा गर्नुका साथै मैदानमा उम्रेको झार र बुटा कटिङ गरेर सफा गरिएको हो। सफाइ अभियानमा प्रदेशसभा सदस्य सम्झना पाख्रिन (योद्धा), पार्टी त्रियुगा नगर कमिटी अध्यक्ष मानबहादुर राई, उपाध्यक्ष नरबहादुर कार्की, वाईसिएल केन्द्रीय सदस्य ज्ञानेन्द्र मगर, जिल्ला संयोजक इश्वर पोखरेल,पूर्व जनमुक्ति सेना तथापार्टीका विभिन्न तह, तप्का र जनवर्गीय संगठनमा आबद्ध नेता कार्यकर्ताहरू सहभागी थिए।
हातमा बेल्चा, झाडु र ग्रास कटर उपकरणसहित भेला भएका नेता कार्यकर्ताले रङ्गशाला वरिपरिको १ सय ८५ मिटर लामो नालामध्ये आधाभन्दा बढी सफाइ गरेको संयोजक पोखरेलले बताए। माटो, बालुवा र ढुंगाले भरिएर झारपात उम्रेको नाला सफाइ गर्न भने एकैदिनमा नसकिने भएकाले केहीदिन लाग्ने उनले बताए। त्यसैगरी घुँडाघुँडासम्म पलाएको मैदानको झार काट्न ग्रास कटर मेसिन प्रयोग गर्दा पनि २/३ दिन लाग्न सक्ने अनुमान गरिएको छ।
खेलाडीसमेत रहेका वाईसिएल केन्द्रीय सदस्य मगरले १ सय ४० मिटर लम्बाइ र ७० मिटर चौडाइको खेल मैदान वरिपरिको नाला १ सय ४५ मिटर लामो तथा ७४ मिटर चौडाइको छ। लामो समयदेखि सफा नगरेका कारण पूरै नालामा माटो भरिएर झारपात पलाएका कारण सफा गर्न सातादिन बढी लाग्नसक्ने अनुमान मगरले गरेका छन्। वाईसिएलले थालेको अभियान अन्तर्गत सबै नाला सफा गर्ने तथा मैदानभित्रको झार काट्ने योजना रहेको उनले सुनाए।
माओवादी त्रियुगा नगर अध्यक्ष मानबहादुर राईले नेता कार्यकर्तालाई उत्पादनसँग जोड्ने पार्टीको निर्णय बमोजिम वाईसिएल नेपालले साउन १ गतेदेखि देशव्यापी रूपमा श्रमदान अभियान चलाउने सिलसिलामा उदयपुरमा रङ्गशाला सरसफाइ गरिएको बताए। एक दिनमा मात्र सम्भव नहुने भएकाले थप अरु दिन पनि लागेर पूरै रङ्गशाला सफा गर्ने योजना रहेको उनले सुनाए।
अध्यक्ष राईका अनुसार माओवादीको ‘श्रम तथा उत्पादनमा वाईसिएल’ अभियान देशभर सुरु भएको छ। पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकलम दाहालले ललितपुरमा बिहीबारै केन्द्रीय श्रम अभियानको उद्घाटन गरेका छन्। युवा शक्तिलाई श्रममा नजोडेसम्म देशमा समृद्धि नआउने अभिप्रायले पार्टीले वाईसिएलमार्फत देशव्यापी उत्पादनमा जोड्न युवाहरूलाई श्रम अभियान चलाएको उनले बताए।
प्रकाशित: १ श्रावण २०८२ १५:३१ बिहीबार

