६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

सौन्दर्यकरण गर्दै साकेला गाउँपालिका

साकेला गाउँपालिकामा विकासका बहुआयामिक कार्यहरू तीव्रगतिमा अघि बढाइएको छ। गाउँपालिकाको मुख्य प्रवेशद्वार साप्सुखोला क्षेत्रमा निर्माण गरिएको स्काइवाक, अत्याधुनिक बसस्टप, आकर्षक स्वागत गेट तथा विभिन्न धार्मिक, सांस्कृतिक र कलात्मक झल्को दिने चित्रकलाहरूले साकेला प्रवेश गर्ने जोकोहीलाई छुट्टै अनुभूति दिलाउने गरेको छ। स्थानीय पहिचान झल्किने चित्रकलाहरूले साकेलाको इतिहास, संस्कृति र सभ्यतालाई जीवन्त प्रस्तुत गरेका छन्।  

यहाँको भूगोल र वातावरणसँग सुहाउँदो प्रकृतिमैत्री संरचना निर्माण गरिनुले पनि गाउँपालिकाको सौन्दर्यकरणमा उल्लेखनीय परिवर्तन आएको देख्न सकिन्छ। विकास केवल कागजमा सीमित नबनाई प्रत्यक्ष कार्यान्वयनमा उतार्ने शैलीले साकेला गाउँपालिकालाई अन्य स्थानीय तहभन्दा फरक र अनुकरणीय बनाएको छ।

यी सबै विकासका गतिविधिहरूको अगुवाइ स्वयं गाउँपालिका प्रमुख रविप्रकाश राईले गरिरहनुभएको छ । गाउँपालिका प्रमुख राई नियमित रूपमा केही कर्मचारीको साथमा श्रमदानमा सहभागी हुँदै गाउँपालिकालाई स्वच्छ, सुन्दर र व्यवस्थित बनाउन निरन्तर सक्रिय रहेका छन्।  

नेतृत्व आफैँ मैदानमा उत्रिएपछि जनप्रतिनिधि, कर्मचारी र स्थानीय बासिन्दामा समेत सकारात्मक ऊर्जा र सहभागिता बढेको देखिन्छ। साकेला गाउँपालिकाले लिएको ‘श्रम साकेला अभियान’ नीतिअनुसार जनश्रमदानलाई विकासको मुख्य आधार बनाइएको छ।  

यही अभियानका कारण गाउँपालिकाभित्रका बाटाघाटा सफा, व्यवस्थित र सुन्दर देखिन थालेका छन् । सरसफाइको क्षेत्रमा समेत साकेला गाउँपालिका जिल्लाकै अग्रपङ्तिमा उभिन सफल भएको छ। यसका साथै गाउँपालिकाभित्र रहेका विभिन्न सार्वजनिक सम्पदाहरूको संरक्षण, धार्मिक तथा पर्यटकीय महत्व बोकेका स्थानको नियमित सरसफाइ तथा सडक पूर्वाधार विकासमा अध्यक्ष राईको सक्रिय भूमिका निरन्तर देखिँदै आएको छ। विकासलाई केवल भौतिक संरचनामा सीमित नराखी सांस्कृतिक संरक्षण र सामुदायिक सहभागितासँग जोडिनु साकेला गाउँपालिकाको विशेषता बन्दै गएको छ।

स्थानीयवासीका अनुसार नेतृत्वको स्पष्ट दृष्टिकोण, निरन्तर श्रमदान र योजनाबद्ध विकासका कारण साकेला गाउँपालिका अहिले सुन्दर, सफा र पर्यटकीय सम्भावनायुक्त गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। गाउँपालिका राईको सक्रिय नेतृत्वले साकेलालाई समृद्ध, आकर्षक र नमूना गाउँपालिकाका रूपमा रूपान्तरण गर्ने अपेक्षा अझ बलियो बनेको स्थानीयले बताएका छन्।  

आफ्नो कार्यकालभित्र जनताका दैनिकीसँग जोडिने विकास÷निर्माणका गतिविधिसँगै पर्यटन प्रवद्र्धनको कामलाई पूर्णता दिने योजनामा रहेको गाउँपालिका प्रमुख राईले जानकारी दिए। ‘हामी निर्वाचित भएर आएपछि जनजीविकाको कामसँगै गाउँपालिकाभित्रका सबै धार्मिक तथा पर्यटकीयस्थलको स्तरोन्नति गरिरहेका छौँ। हाम्रो पालिका आफैँमा पर्यटकीयस्थल हो’, उनले भने, ‘यहाँ रहेका पर्यटकीय गन्तव्यहरूको स्तरोन्नति गर्दै पर्यटन प्रवद्र्धनको काम गरिरहेका छौँ। यसले स्थानीयका लागि रोजगारी सृजना गर्नुका साथै गाउँपालिकाको आन्तरिक स्रोतमा समेत सघाउ पुग्नेछ।’

जिल्लाको सबैभन्दा सानो (पाँचवटा मात्र वडा रहेको) यो गाउँपालिकाको वडा नं २ रतन्छामा साकेला पार्क (उद्यान) र वडा नं ३ खिदिमामा सहिद पार्क निर्माण गरिसकिएको छभने तावाताल निर्माणको काम अगाडि बढाइएको छ। गाउँपालिकालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पर्यटकीय क्षेत्रहरूको स्तरोन्नति तथा प्रवद्र्धनको कामलाई तीव्रता दिइएको उपप्रमुख बिर्सिकाले जानकारी दिएका छन्।  

गाउँपालिकाले आफ्नै गाउँठाउँमा पाइने पात्ले, ढाल्ने र सालको काठबाट होर्डिङ बोर्ड बनाएको छभने टोलटोलसम्म पुग्ने बाटो र ठाउँको नाम अङ्कित दिशानिर्देशक चिह्न (डाइरेक्सन एरो) समेत देखाएको छ । गाउँपालिकाले सीमा क्षेत्रका आठवटा स्थानमा स्वागत र बिदाइ बोर्ड राखेको छ,भने पालिकाभित्रका हरेक टोल तथा बस्तीसम्म छिर्ने दोबाटोहरूमा ‘डाइरेक्सन बोर्ड’ राखेको छ।  

डाइरेक्सन बोर्डको सहायताले पहिलोपटक साकेला गाउँपालिका पुग्ने जोकोहीले सजिलैसँग एक्लै गाउँपालिकाको सबै वडा घुम्न सक्नेछन्। गाउँपालिकाद्वारा राखिएका होर्डिङ बोर्ड र चिह्नहरूलाई कलात्मक रूपमा प्रस्तुत गरेको देख्दा लाग्छ हामी संस्कार र सभ्यताले सुसज्जित पालिका प्रवेश गर्दैछौँ। रासस

प्रकाशित: ३० पुस २०८२ ०८:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App