३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

झापा-२ : उम्मेदवार घिमिरेसँग अधुरो बाटो पूरा गर्नेदेखि आश्रम निर्माणमा सहयोग गर्न माग

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेवारहरूले प्रचार प्रसारलाई तीव्र बनाएका छन्। निर्वाचन आयोगले फागुन ४ गतेदेखि प्रचार प्रसार गर्न उम्मेदवारहरूलाई समय दिएको छ।

झापा क्षेत्र नं. २ मा एमालेबाट उम्मेदवार बनेका देवराज घिमिरेले आज बिहान अर्जुनधारा वडा नं. ११ का विभिन्न चोक, टोलहरूमा घरदैलो गरेका छन्। एमालेको निर्वाचन परिचालन कमिटीका संयोजक एकराज कार्कीसहितको टोलीले वडा नं. ११ को नारायण चोक, सेवारो टोल, गिरीबन्धु बगान क्षेत्र, स्टाफ चोकमा मत माग्दै जनताका सुझाव समेत संकलन गरेको छ।

उम्मेदवार घिमिरेले बाँकी कामहरू पूरा गर्न साथ दिनुहोस् भन्दै मतदातालाई आग्रह गरेका छन्। घरदैलोका क्रममा उम्मेदवार घिमिरेलाई स्थानीयवासीले बाटो निर्माणको कामलाई प्राथमिकता दिन आग्रह गरे। नयाँ खोलिएका बाटोमा ग्राभेल, ग्राभेल बाटोमा कालोपत्रे र बिजुलीको पोल व्यवस्थापन गरिदिन स्थानीयको माग छ।

घरदैलो कार्यक्रममा सरसफाइ अभियान्ता गणेश ढुङगानाले अनाथ आश्रम निर्माणका लागि सहयोग गर्न अनुरोध गरेका छन्। आफूले फोहोर संकलनबाट आएको रकमले जग्गा खरिद गरेर अघि बढेको बताउँदै उनले आश्रम निर्माणका लागि आग्रह गरेका हुन्। उनले विजयको शुभकामना दिँदै उम्मेदवारहरूलाई फूलमाला लगाइदिएका छन्।

यस्तै, सो क्षेत्रका बासिन्दाहरूले स्टाफ चोकदेखि लाहुरे टोल जाने बाटो कालोपत्रको काम अघि बढाइदिन माग गरेका थिए। उक्त बाटो निर्माणको आवश्यक प्रक्रिया अघि बढिसकेको स्थानीय अंगत धिमालले जानकारी दिए। कालोपत्रको कामलाई जनताको चाहना बमोजिम छिटो गरिदिन आग्रह गरे।

वडा नं. ११ का विष्णु मगरले घर अगाडिको बाटो निर्माण गरिदिन उम्मेदवारसँग आग्रह गरेका छन्। उनले हिले खोलासँगै रहेको बाटो निर्माण गर्नुका साथै विकासका कामहरूलाई प्राथमिकता दिन सुझाव दिएका छन्।

प्रकाशित: ६ फाल्गुन २०८२ ११:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App