७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अर्थ

अन्नपूर्णबाट करिब चार करोड मूल्यबराबरको सुन्तला बिक्री

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसानले यस वर्ष सुन्तला बिक्री गरेर करिब रु चार करोड आम्दानी गरेका छन्। अन्नपूर्ण गाउँपालिकाको कृषि विकास शाखाले किसानहरूले बिक्री गरेको सुन्तलाको विवरण सङ्कलन गरेको हो। कृषि शाखाका प्राविधिक सम्झना खत्रीले पालिकाका सबै बगैँचाबाट रु तीन करोड ८८ लाख मूल्यबराबरको सुन्तला बिक्री भएको जानकारी दिए।

वडा नं १ दोवामा रु ७० लाख, वडा नं २ भुरुङ–तातोपानीमा ३९ लाख, वडा नं ३ दानामा २१ लाख, वडा नं ४ नारच्याङमा रु १० लाख, वडा नं ६ घारमा ६० लाख र वडा नं ७ हिस्तान दोसल्ले र औलामा एक करोड ८८ लाख मूल्यबराबरको सुन्तला बिक्री भएको उनले बताए।

दुई सय जनाभन्दा बढी किसानले न्यूनतम रु ५० हजारदेखि रु २० लाख मूल्यबराबरको सुन्तला बिक्री गरेका छन्। सबैभन्दा बढी दोसल्लेका किसान विकास श्रेष्ठले रु २० लाखको सुन्तला बिक्री  गरेका छन्।  

अन्नपूर्णका किसानले म्याग्दीमा सबैभन्दा पछि माघ लागेपछि सुन्तला टिपेर बजार पठाउन थालेका थिए। फागुन २ गतेसम्म सुन्तला टिपेर बजार पठाएका हुन्। गत वर्षको तुलनामा ४० प्रतिशत कम उत्पादन भए पनि दोब्बर मूल्य पाउँदा आम्दानी बढेको दोसल्लेका किसान श्रेष्ठले बताए।

दोसल्लेका किसानले प्रतिकिलोग्राम रु २०० सम्म सुन्तलाको मूल्य हात पारेका छन्। सुन्तला अन्नपूर्ण गाउँपालिकाको प्रमुख नगदेबाली हो। यहाँ आलुपछि धेरै बिक्री हुने कृषिबालीमा सुन्तला रहेको छ। अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले सुन्तला बगैँचा विस्तार र व्यवस्थापनका किसानलाई सहयोग गरिएको बताइन्। रासस

प्रकाशित: ६ फाल्गुन २०८२ ११:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App