सरकारी स्वामित्वको गोरखापत्र दैनिकमा तीजको व्रतबारे प्रकाशित एक लेखले हिन्दू धर्ममाथि प्रहार गरेको आरोप लगाउँदै पत्रिका जलाउने प्रयास गर्ने राजसंस्था समर्थक अभियन्ता सन्तोष कुमार सिलवाल (सन्तोष राजावादी) लाई प्रहरीले पक्राउ गरेको छ।
उनलाई मंगलबार दिउँसो माइतीघर मण्डलाबाट नियन्त्रणमा लिइएको हो।
गोरखापत्रको मंगलबारको अङ्कमा पहिलो पृष्ठमा प्रकाशित ‘निराहार व्रतले स्वास्थ्यमा प्रतिकूल असर’ शीर्षकको लेखले हिन्दू सनातन धर्मप्रति अनास्था फैलाएको भन्दै सिलवाल केही युवाहरुसहित प्रदर्शनमा उत्रिएका थिए।
उनीहरुले पत्रिका च्यात्ने र जलाउने प्रयास गरेलगत्तै प्रहरीले हस्तक्षेप गरी उनको प्रयास विफल पारेको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सिलवाललाई नियन्त्रणमा लिइ हाल प्रहरी वृत्त, सिंहदरबारमा राखिएको छ।
धादिङ घर भएका सिलवाल पटक-पटक विवादित गतिविधिमा संलग्न हुँदै आएका छन्। उनी गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी समूहको हिंसात्मक प्रदर्शनका क्रममा पक्राउ परेका थिए र पछि जिल्ला अदालतबाट एक लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए।
सिलवालले सामाजिक सञ्जाल फेसबुकमार्फत सूचना दिएर प्रदर्शनको आयोजना गरेका थिए। उनले फेसबुकमा लेखेका थिए, ‘गोरखापत्रको अफिसको गेटमै गएर पत्रिका जलाउन मन थियो तर सिंहदरबारभित्र रहेछ। त्यसैले माइतीघरमा जम्मा भएर गोरखापत्र जलाऔँ र यो लेख्नेलाई कडा कारबाहीको माग गरौँ।’
प्रकाशित: १० भाद्र २०८२ १५:५४ मंगलबार





