१३ श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

कर्णालीमा सवारी दुर्घटना बढ्यो, मृत्युदर भने घट्यो

कर्णाली प्रदेशमा आर्थिक वर्ष २०८२/८३ मा सवारी दुर्घटनाको संख्या उल्लेख्य रूपमा बढेको भए पनि दुर्घटनाबाट मृत्युमा हुनेको संख्यामा कमी आएको तथ्याङ्क सार्वजनिक भएको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका अनुसार आर्थिक वर्ष २०८१/०८२ को तुलनामा आर्थिक वर्ष २०८२/०८३ मा सवारी दुर्घटना २३५ वटाले बढेको छ।

यस अवधिमा दुर्घटनामा घाइते हुनेको संख्या पनि १४५ ले वृद्धि भएको छ। तर, सकारात्मक पक्ष के छ भने दुर्घटनाबाट हुने मृत्यु संख्या ३५ ले घटेको तथ्याङ्कले देखाएको छ।

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालका अनुसार सवारी दुर्घटना बढ्नुका पछाडि सवारी साधनको संख्या तीव्र रूपमा वृद्धि हुनु मुख्य कारण हो।

आर्थिक वर्ष २०८२/०८३ मा प्रदेशमा सवारी दर्ता १६ हजार २७५ ले बढेको छ।

साथै, स्थानीय तहका साँघुरा, जीर्ण तथा जोखिमयुक्त कच्ची सडक, सडकमा रहेका खाल्डाखुल्डी, सडक सुरक्षा पूर्वाधारको अभाव, पर्याप्त ट्राफिक जनशक्तिको कमी तथा प्राविधिक रूपमा कमजोर सवारी साधन सञ्चालनले पनि दुर्घटना बढाउन भूमिका खेलेका छन्।

तथ्याङ्कअनुसार कर्णालीमा सबैभन्दा बढी ६९० वटा सवारी दुर्घटना सुर्खेत जिल्लामा भएका छन् भने सबैभन्दा कम १७ वटा दुर्घटना मुगुमा भएका छन्।

प्रमुख रिजालका अनुसार दुर्घटनाका प्रमुख कारणहरूमा तीव्र गति, ब्रेक फेल, सवारी साधनको यान्त्रिक समस्या, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनु, चालकको असक्षमता, प्रतिकूल मौसम तथा जोखिमपूर्ण ओभरटेक रहेका छन्।

दुर्घटना न्यूनीकरणका लागि चालु आर्थिक वर्षमा कार्यालयले व्यवसायिक चालक तथा सहचालकसँग अन्तरक्रिया र छलफल, नियमित मापसे तथा लागुऔषध सेवन (लापसे) परीक्षण, राडार गनमार्फत गति निगरानी, चालक, सहचालक, यात्रु तथा सडक प्रयोगकर्तालाई ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

साथै, क्यूआर कोडमार्फत नागरिकका गुनासा संकलन गरी तत्काल समाधान गर्ने व्यवस्था पनि प्रभावकारी रूपमा कार्यान्वयन गरिएको कार्यालयले जनाएको छ।

प्रहरीले सडक सुरक्षा पूर्वाधार विस्तार, चालकको जिम्मेवारीपूर्ण व्यवहार, सवारी साधनको नियमित प्राविधिक परीक्षण तथा ट्राफिक नियमको कडाइका साथ पालना गर्न सके दुर्घटना न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गर्न सकिने विश्वास व्यक्त गरेको छ।

प्रकाशित: ६ श्रावण २०८३ १७:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App