अविरल वर्षापछि नारायणी नदीमा आएको बाढीले बगाएको गैंडालाई चितवन राष्ट्रिय निकुञ्ज र सुरक्षाकर्मीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ।
निकुञ्जको पश्चिम सेक्टरबाट बाढीको भेलमा बगेर नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पुगेको अन्दाजी ४ वर्षको पोथी गैंडालाई मंगलबार उद्धार गरिएको हो।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार सुस्ता गाउँपालिका-४ नरसई क्षेत्रमा फेला परेको उक्त गैंडालाई लामो प्रयासपछि सुरक्षित रूपमा नियन्त्रणमा लिइएको थियो।
गैंडाको उद्धारका लागि संरक्षणकर्मी र सुरक्षा निकायको ठूलो टोली खटिएको थियो। चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक कर्मचारी र डिभिजन वन कार्यालय (बर्दघाट पश्चिम) को टोलीसहित तीनवटै सुरक्षा निकायले संयुक्त अपरेसन चलाएका थिए।
उद्धार कार्यमा नेपाली सेनाको नयाँ गोरख गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली सक्रिय रूपमा सहभागी भएको थियो।
बाढीको कठिन अवस्थामा पनि संयुक्त टोलीले कुशलतापूर्वक गैंडालाई सुरक्षित रूपमा नियन्त्रणमा लिएको हो। सूचना अधिकारी थापा मगरले उद्धार गरिएको उक्त पोथी गैंडालाई चितवन राष्ट्रिय निकुञ्जमै फिर्ता ल्याउने कार्य भइरहेको जानकारी दिए।
प्रकाशित: १३ आश्विन २०८३ १९:२६ मंगलबार



-600x400.jpg)

