गुल्मीकाे रुरुक्षेत्र गाउँपालिकाले सडक स्तरोन्नति सहज र प्रभावकारी बनाउन सडक मापदण्डभित्र पर्ने घरटहरा तथा संरचना हटाउन सम्बन्धित बासिन्दालाई अनुरोध गरेको छ।
मदन भण्डारी राजमार्ग योजना कार्यालयले सडक मापदण्डभित्र पर्ने घरटहरा, पसल र अन्य संरचनाले सडक निर्माणमा अवरोध पुर्याइरहेकाले गाउँपालिकालाई समयमै उक्त संरचना हटाइदिन पत्राचार गरेको थियो।
सोही पत्राचारलाई आधार मान्दै रुरुक्षेत्र गाउँपालिका–१ को रिडीबजार, वडा नं ३ को पानीट्यांकी क्षेत्र तथा वडा नं ४ अन्तर्गत आमपोखरा र बलेटक्सार बजार क्षेत्रमा सडकको मापदण्डभित्र पर्ने घरटहरा लगायतका संरचना हटाउन सूचना जारी गरिएको गाउँपालिकाले जनाएको छ।
निर्माणमा ढिलाइ हुँदा क्षतिपूर्ति उपलब्ध गराउने काममा समेत ढिलाइ हुन सक्ने जनाउँदै उक्त कार्यमा सहयोग गर्न स्थानीयलाई आग्रह गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए।
२०७९ फागुन २६ मा समानान्तर-एलाइट जेभी काठमाडौं मार्फत एक अर्ब ५० करोड रूपैयाँको लागतमा सडक स्तरोन्नति गरिरहेको छ।
रुरुक्षेत्र गाउँपालिकाको रिडीदेखि गुल्मी दरबार गाउँपालिकाको रुन्खादहसम्म २५ किलोमिटर सडकखण्डमा आउँदो फागुन महिनासम्म कालोपत्र गरिने मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका सूचना अधिकारी एवं इञ्जिनियर हुमनाथ पौडेलले बताए।
प्रकाशित: २१ कार्तिक २०८२ १३:०५ शुक्रबार





