१६ आश्विन २०८२ बिहीबार
image/svg+xml ७:६ पूर्वाह्न
समाज

मनसुनका बेला विद्युत् र सञ्चार सेवाको समस्या सम्बोधन गर्न आग्रह

मनसुन प्रतिकार्य कमाण्ड पोस्टले मनसुनका बेला विद्युत् तथा सञ्चार सेवा अवरुद्ध हुने समस्या तत्काल समाधान गर्न नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार प्राधिकरणलाई आग्रह गरेको छ ।

कमाण्ड पोष्टको आज सिंहदरबारमा सम्पन्न तेस्रो बैठकले मनसुन अवधिभर बाढी, पहिरो, डुबान र भारी वर्षाका कारण विद्युत् आपूर्ति तथा सञ्चार प्रणाली अवरुद्ध हुने गुनासो आउने गरेका सन्दर्भमा सोको यथोचित र शीघ्र सम्बोधनका लागि आवश्यक व्यवस्था मिलाउन विद्युत् र दूरसञ्चार प्राधिकरणलाई अनुरोध गरेको प्राधिकरणका प्रवक्ता, उपसचिव सुरेश सुनारले जानकारी दिए।

कमाण्ड पोष्टको आजको बैठकले मनसुन अवधिभर नेपाल टेलिकम, एनसेल लगायतका दूरसञ्चार सेवा प्रदायकका टावरमा नियमित रूपमा विद्युत् आपूर्ति सुनिश्चित गर्न विद्युत् प्राधिकरणलाई अनुरोध गरेको हो ।

बैठकले हालै रसुवामा गएको बाढीपछि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १८औँ बैठकबाट निर्णय भएबमोजिम भन्सार पूर्वाधार, सडक, विद्युत् र अन्य पूर्वाधारमा भएको क्षतिको विस्तृत आकलन गरी यथाशीघ्र प्रतिवेदन पेस गर्न सम्बन्धित मन्त्रालयलाई अनुरोध गरेको उपसचिव सुनारले बताए। 

प्रकाशित: ४ श्रावण २०८२ १८:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App