२१ मंसिर २०८२ आइतबार
image/svg+xml
समाज

वायु प्रदूषण घटाउन सके नेपालीको आयु ३.३ वर्ष बढ्ने

वायु प्रदुषण विश्व स्वास्थ संगठनको मापदण्डभित्र राख्नसके नेपालीको सरदर आयु  ३ वर्ष ३ महिनाले बढ्ने एक वैज्ञानिक अध्ययनले देखाएको छ। अमेरिकाको सिकागो विश्वविद्याालयअन्तर्गतको इनर्जी पोलिसी इन्सिच्यूटले विहीबार सार्वजनिक गरेको ‘एयर क्वालिटी लाइफ इन्डेक्स–२०२५’ले यस्तो तथ्य देखाएको हो।

वायु प्रदूषण मापन गर्दा प्रयोग हुने ‘पिएम–२.५’ मापदण्डका आधारमा नेपालीको सरदर आयुका लागि सबैभन्दा ठुलो बाह्य खतरा ‘प्रदूषित हावा’लाई देखिएको उक्त अध्ययनले देखाएको छ।

प्रतिवेदनले सन् २०२३ मा नेपालमा ‘पिएम–२.५’को सरदर स्तर ३८.३ माइक्रो ग्राम प्रतिघनमिटर रहेको देखाएको छ, जुन सन् २०२२ को तुलनामा १० प्रतिशतले बढी हो। प्रतिघनमिटर वायुमा हुने अत्यन्त स–साना विषाक्त कण मापन गर्न विभिन्न सूचकहरूमध्ये पिएम २.५ एक हो।

स्वच्छ हावाका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्लएचओ)ले पिएम २.५को  वार्षिक सरदर ५ माइक्रो ग्राम प्रतिघनमिटर हुनुपर्ने तोकेको छ। सन् २०२३मा नेपालको वायु प्रदूषण डब्लुएचओको मापदण्डभन्दा ७.६६ गुणाले बढी थियो। 

तराईमा अत्यधिक विषाक्त हावा

प्रतिवेदनअनुसार नेपालका मध्य तथा पूर्वी तराईका रौतहट, महोत्तरी र बाराका स्थानीयले सर्वाधिक विषाक्त हावामा श्वास फेर्ने गरेको देखिएको छ। मधेसका यी जिल्लाका बासिन्दाले डब्लुएचओको मापदण्डअनुसारको स्वच्छ हावामा श्वास फेर्न पाए सरदर आयु ५.२ वर्ष बढ्न सक्ने प्रतिवेदनले देखाएको छ।

प्रदेशगत हिसाबले मधेसपछि सबैभन्दा प्रदूषित कोसी प्रदेश रहेको छ। जहाँ डब्लुएचओको मापदण्डअनुरूपको वायु प्रदूषण नियन्त्रण भए त्यहाँका बासिन्दाको आयु ३.६ वर्षले बढ्ने देखिएको छ। 

समग्रमा नेपालका ४० प्रतिशत जनसंख्याको बसोबास मध्य तथा पूर्वी तराईमा भएकाले  डब्लुएचओ मापदण्ड अनुसारको हावामा श्वास फेर्न पाए उनीहरूको आयु ४.७ वर्षले बढ्न सक्ने देखिएको छ। यस्तै प्रदूषणका कारण राजधानी काठमाडौंका बासिन्दाको आयु २.६ वर्षले घटेको छ। 

सन् १९९८ देखि सन् २०२३ सम्ममा नेपालमा पिएम २.५ को हिसाबले वायु प्रदूषण ७४ प्रतिशतले बढेको पाइएको छ। यसले सरदर आयुलाई थप १.६ वर्षले घटाएको  छ।

नेपालमा धुम्रपान र आहारजन्य जोखिमभन्दा वायु प्रदूषण झन् खतरनाक देखिएको छ । धूम्रपानले नेपालीको औसत आयुलाई १.९ वर्ष र आहारजन्य जोखिमले १.३ वर्षले घटाउने गरेको पाइएको छ। 

उक्त प्रतिवेदनले प्रदूषणका कारण विश्वका सरदर मानिसको आयु १.९ वर्षले घटेको र वायु प्रदूषण मानव स्वास्थ्यका लागि विश्वकै सबैभन्दा ठुलो बाह्य जोखिम बनेको देखाएको छ। 

विश्वभर सरदर आयुका लागि वायु प्रदूषणले निम्त्याउने जोखिम धूम्रपानको हाराहारीमा छ, भने मद्यपानभन्दा चार गुणा बढी, सडक दुर्घटनाजस्ता यातायातजन्य घटनाभन्दा ५ गुणा बढी, एचआइभी÷एड्सभन्दा ६ गुणाभन्दा बढी गम्भीर रहेको प्रतिवेदनमा उल्लेख  छ। 

प्रकाशित: १२ भाद्र २०८२ १४:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App