१० चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

इलाममा चैत २० देखि २३ गतेसम्म तेस्रो रेडपाण्डा महोत्सव हुने भएको छ। दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षण र पर्यटन प्रवर्द्धनको उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो।

सोमबार काठमाडौंमा पत्रकार भेटघाटमा महोत्सव आयोजक समितिका संयोजक सनम राईले ‘रेडपाण्डा ट्रेल’ मा आधारित पदमार्ग पर्यटनलाई केन्द्रमा राखेर महोत्सव आयोजना गर्न लागिएको बताए। करिब ४० किलोमिटर लामो उक्त पदमार्गले माईपोखरीदेखि जौबारीसम्मका विभिन्न पर्यटकीयस्थललाई जोड्छ। यस मार्गमा रेडपाण्डासहित विभिन्न प्रजातिका चरा, वन्यजन्तु, जैविक विविधताको अध्ययन–अवलोकन गर्न सकिन्छ। सन्दकपुर गाउँपालिका–४ कालपोखरीमा महोत्सव आयोजना हुने छ।

आयोजकका अनुसार रेडपाण्डा पदयात्राको अनुभव, जङ्गल सफारी, चराहरूको दृश्यावलोकन महोत्सवका मुख्य आकर्षण रहने छन्। यस्तै, यहाँका १८ प्रजातिको गुराँसको अध्ययनका साथै आदिवासी जनजातिको संस्कृतिसमेत नियाल्न पाइने छ। विश्वको अग्लो सगरमाथासहित ६० भन्दा बढी हिमशृङ्खला, सयौँ प्रजातिका चराको अवलोकन गर्न सकिने संयोजक राईले बताए। महोत्सवमा आन्तरिक र बाह्य १० हजार पर्यटक सन्दकपुर भित्र्याउने आयोजकको लक्ष्य छ।

महोत्सव आयोजक सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बूले यस महोत्सवले पालिकाका प्रमुख गन्तव्यहरूको समेत प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे। यसअघि २०८० चैत २७ देखि वैशाख १ गतेसम्म पहिलो र २०८१ चैत २० देखि २३ गतेसम्म दोस्रो रेडपाण्डा महोत्सव आयोजना गरिएको थियो। रेडपाण्डाको माध्यमबाट पूर्वी नेपालको वनजङ्गल पर्यटनलाई चलायमान बनाउने उद्देश्य रहेको जनाइएको छ।

झापाको चारआलीबाट ७५ किलोमिटरको दूरीमा इलाम बजार र त्यहाँबाट १८ किलोमिटर यात्रा गरेपछि सन्दकपुर गाउँपालिकाको रामसार क्षेत्र पुग्न सकिन्छ। त्यहाँको पर्यटन सूचना केन्द्रको सहयोगमा यहाँका पर्यटकीय गन्तव्यको यात्रा गर्न सकिन्छ।

प्रकाशित: १० चैत्र २०८२ ०७:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App