२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
समाज

रुख काट्ने मात्रै होइन, बिरुवा पनि रोप्छन् राउटे

नेपालको एक मात्रै लोपोन्मुख राउटे समुदायको एक मात्रै पेसा काठका भाँडा वर्तन बनाएर जीविकोपार्जन गर्नु हो।

कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा घुम्दै हिँड्ने यो समुदाय काठका सामाग्रीहरू बनाउनका लागि सिमल, गुराँस, टुनीलगायतका रुखहरू काट्ने गर्छन्। यी रुखहरूबाट राउटेले कोसी, मधुस, पिर्का, डाडु, पन्यूलगायतका सामाग्रीहरू बनाउँछन् र त्यसैले गुजारा चलाउँछन्।

पछिल्लो समय वन संरक्षणका लागि समुदायले सामुदायिक वन गठन गर्न थालेपछि राउटे समुदायलाई काठका सामाग्री बनाउन काठको समस्या हुन थाल्यो। केही स्थानमा काठ काट्ने विषयमा बाह्य समुदाय र राउटे समुदायबिच द्वन्द्वसमेत देखिन थाल्यो। पछिल्लो समय भने ‘रुख मात्रै काट्ने’ आरोप लाग्ने गरेको राउटे समुदाय बिरुवा रोप्न र हुर्काउन थालका छन्।

राउटे मुखिया प्रकाश शाही आफूहरूलाई काठका सामाग्रीहरू बनाउने रुख अभाव हुन थालेपछि साना साना बिरुवाहरू रोप्न थालेको बताउँछन्। ‘जंगलमा हामीलाई चाहिने काठ पाइन छाड्यो,’ मुखिया प्रकाशले भने, ‘अहिले रोपेनौ भने पछिल्लो पुस्ताले दुःख पाउने भएकाले जहाँ जान्छौँ, त्यहाँ बिरुवा पनि रोप्न थालेका छौँ।’

राउटे समुदाय एक साताअघि मात्रै गुर्भाकोट नगरपालिकाबाट सिम्ता गाउँपालिका–९ को चोल्पामा बसाई सरेर गएको छ। विश्व वातावरण दिवसको अवसर पारेर आइतबार आफू बसेको जंगलमै राउटेले उत्तिस, गुराँसलगायतका बिरुवाहरू रोपे।

मुखिया प्रकाशले आफहरु रुख मात्रै काट्ने नभएर बिरुवा रोप्ने र हुर्काउने काममा पनि अग्रसर भएको बताए। ‘हामी रुख–बुटाहरू मात्रै मास्दैनौँ पछिका सन्तानका लागि बिरुवाहरू पनि रोप्छौँ,’ दीपक शाहीले भने, ‘अहिले बिरुवा रोप्यौँ भने ठुलो भए पनि काट्न पाइन्छ।’

कर्णाली प्रदेश सरकारले नौ वर्ष अघि नै कर्णालीका डिभिजन वन कार्यालयलाई पत्राचार गरेर सामुदायिक वनको विधान र कार्ययोजना नवीकरण गर्दा तथा नयाँ सामुदायिक वन हस्तान्तरण गर्दा राउटे समुदायलाई अनिवार्य रूपमा उपभोक्ताका रूपमा समावेश गर्न पत्राचार गरेको थियो। प्रदेश सरकारको निर्देशन कार्यान्वयन नहुँदा समुदाय र राउटे समुदायबिच रुख काट्ने विषयमा बेलाबेलामा विवाद हुने गरेको छ।

राउटे समुदायसँग काम गर्दै आइरहेको सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले राउटे समुदाय र अन्य समुदायबिचको सम्बन्ध प्रगाढ बनाउन तथा रुख–बिरुवाको महत्त्व बुझाउन बेलाबेलामा राउटे समुदायलाई वृक्षारोपण कार्यक्रममा सहभागी गराइने गरेको बताए।

‘रुख काट्न सजिलो हुन्छ, तर लगाउन र हुर्काउन समय लाग्छ, राउटे समुदाय अहिले बसेको ठाउँमा फेरि एक दशकपछि मात्रै फर्कने भएकाले बिरुवा रोप्ने र जोगाउने चेत थिएन,’ उनले भने, ‘पछिल्लो समय भने बोट–बिरुवाको महत्वका बारेमा राउटे समुदायले बुझ्न थालेपछि बिरुवा रोप्ने र अनावश्यक रुख बिरुवाहरू नकाट्ने गर्न थाल्नु भएको छ।’

राउटे समुदायले यसअघि लेकवेशी नगरपालिकाका विभिन्न सामुदायिक वनहरूमा वृक्षारोपण कार्यक्रम गरेका थिए भने दैलेखको गुराँस गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ज्याला लिएर नौ दिनसम्म बिरुवा रोपेका थिए।

प्रकाशित: २४ जेष्ठ २०८३ १८:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App