कमला चौधरीको मुखमा न अन्न छिरेको छ, न त रातमा राम्ररी निन्द्रा नै परेको छ। भोटेकोसीमा आएको बाढी पश्चात श्रीमान श्याम बहादुर थारु एक्कासी सम्पर्क बनेपछि श्रीमती कमला विक्षिप्त अवस्थामा छिन्। बाँके, राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ स्थित खोकरी निवासी श्यामबहादुर गत बुधबार भोटेकोसीमा आएको बाढीमा परेर बेपत्ता भएका हुन्। उनी रसुवामा रहेको एक जलविद्युत आयोजनाको काममा मजदुरी गर्दै आएका थिए।
विनाशकारी बाढीले बगाएर ल्याएका शवहरु ठाउँ-ठाउँमा भेटिएपछि श्रीमानको खोजीका लागि जेठाजु र भाईलाई कमलाले चितवनसम्म पठाईन्। तर, त्यहाँ पुग्दा श्यामको न शास, न त लास भेटियो। अवस्था कतै पत्ता नलागेपछि त्यहाँबाट पविारका सदस्य तथा आफन्तहरु निराश भएर घर फर्किए।
अहिले घरमा रहँदा पनि परिवारका सदस्यले श्यामको मोबाईलमा दिनहुँ फोन गरिरहेका छन्, तर उनको मोबाईल निरन्तर बन्द अवस्थामा छ। परिवारका कुनै सदस्यको मोबाईलमा घण्टी बज्दा पनि श्यामबहादुरकै सम्झनाले सताउँछ। अहिलेसम्म श्रीमानको श्वास वा लास हामीले केही पाएनौं,’ कमलाले भनिन्, दैनिक रुपमा फोन हानिराछौँ, सधैं स्वीच अफ मात्रै भन्छ।’
परिवारका अनुसार श्यामबहादुरका दुई श्रीमतीबाट ४ सन्तान छन्। कमला श्यामबहादुरकी जेठी श्रीमती हुन्। उनीबाट दुई छोरा छन्। कान्छीबाट एक छोरा र एक छोरी छन्, तर उनीहरु आमासँगै बाहिर बस्छन्। कमलालाई घरको खर्चसँगै छोराहरुको पठन-पाठन खर्च कसरी धान्ने भन्ने चिन्ताले सताएको छ।
श्रीमानले कान्छी श्रीमती ल्याउँदा पनि आफुले श्रीमानका लागि कहिल्यै नराम्रो नसोचेको भन्दै उनले अहिले आफ्नो जीवनसाथी सम्पर्क बिहिन हुँदा अत्यन्तै पीडा भइरहेको बताइन्। रसुवामा मजदुरी काम गर्ने श्रीमानको खोजीका लागि आफुले चारैतिर सम्पर्क गरिरहेको र राज्यले पनि आवश्यक सहयोग गर्नुपर्ने उनको माग छ। 'सरकारलाई म विनम्र अनुरोध गर्दछु, मेरो श्रीमानको कि श्वास, कि त लाशको एकिन गरिदेओस्,’ कमलाले थपिन्।
परिवारका चार दाजुभाई मध्ये श्यामबहादुर साईला हुन्। बेपत्ता श्यामबहादुरका भाई हेमन्तले बाढी प्रभावित क्षेत्र रसुवादेखी चितवनसम्म दाईको अवस्था बुझ्ने काम गर्दा पनि अहिलेसम्म कतै पत्ता नलागेको बताए। बाढीले बगाएर ल्याएका शवहरु चितवनमा धेरै संख्यामा भेटिएको थाहा पाएपछि त्यहाँ पुगेर हेर्दा पत्ता नलागेको र सुरक्षाकर्मीले जिवित उद्धार गरेको ब्यक्तीको लिष्टमा पनि दाईको नाम नभेटिएको उनले सुनाए।
'हामीले सबै ठाउँमा बुझ्ने काम गरिसकेका छौं, तर कतैपनि दाईको अवस्था पत्ता लागेन, अझैपनि दाई जिवितै फर्केर आउने आशा गरेका छौँ,’ उनले भने। परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले दाईको अनुपस्थितीमा घरको खर्च चलाउन गाह्रो हुने निश्चित रहेको हेमन्तले बताए। सरकारले आफ्नो तर्फबाट उद्धारको प्रयास जारी राखेको र अझैपनि उद्धार कार्यलाई निरन्तरता दिनुपर्ने पीडित परिवारको सुझाव छ। सरकारमाथी नै आमनागरिकहरुको भरोसा रहेकाले यसलाई टुट्न दिन नहुने उनीहरुको आग्रह छ। सरकारले बाढी पीडितका लागि भन्दै सहयोग संकलन गरिरहेकाले वास्तविक पीडितसम्म राहत पुग्नुपर्ने उनीहरुको सुझाव छ।
प्रकाशित: १७ भाद्र २०८३ ०९:४६ बुधबार





