रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण मृत्यु हुनेको संख्या ७८८ पुगेको छ भने हालसम्म २ हजार ७४२ जनाको उद्धार गरिएको छ।
नेपाल प्रहरीले आइतबार दिउँसो ३ बजेसम्मको सार्वजनिक गरेको विवरणअनुसार उद्धार कार्यका लागि ७ हजार ८९४ जना प्रहरी परिचालन गरिएको छ। बाढीपछि २५ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्।
प्रहरीका अनुसार बाढीले बगाएर विभिन्न जिल्लाका तटीय क्षेत्रमा पुर्याएका ७८८ जनाको शव फेला परेको हो। जसमध्ये सबैभन्दा बढी चितवनमा २६४, नवलपरासी (पूर्व) मा १९४ र नवलपरासी (पश्चिम) मा १२० जनाको शव भेटिएको छ।
यस्तै, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३७ र रसुवामा १३ जनाको शव फेला परेको प्रहरीको तथ्यांकमा उल्लेख छ।
प्रभावित क्षेत्रबाट हालसम्म २ हजार ७४२ जनाको घाइते तथा सकुशल उद्धार गरिएको छ। जसमा नुवाकोटबाट २ हजार २० जना, रसुवाबाट ७१९ जना र धादिङबाट ३ जना रहेका छन्।
उद्धार गरिएकाहरूमध्ये काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचाररत तथा उपचारपछि डिस्चार्ज हुने घाइतेको संख्या १६० पुगेको नेपाल प्रहरीले जनाएको छ।
प्रकाशित: १४ भाद्र २०८३ १६:५४ आइतबार





