रसुवामा बुधबार बिहान गएको भोटेकोशी बाढीमा परी घाइते भएका ४३ जनालाई उद्धार गरी काठमाडौँ राष्ट्रिय ट्रमा सेन्टर ल्याइएकामा २४ जना उपचारपछि घर फर्किएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार राष्ट्रिय ट्रमा सेन्टरमा हाल १७ घाइतेको उपचार भइरहेको छ।
एक जनालाई थप उपचारका लागि वीर अस्पताल रेफर गरिएको छ। उपचारका क्रममा विदुर नगरपालिका–१०, नुवाकोटका महेश डङ्गोलको केही दिनअघि मृत्यु भएको प्रहरीले जनाएको छ।
यसैबीच, भोटेकोशी बाढीमा परी घाइते भएका तथा सम्पर्कविहीन व्यक्तिका आफन्तलाई आवश्यक सूचना उपलब्ध गराउन नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा नागरिक सहायता कक्ष स्थापना गरेको छ।
सहायता कक्षमा घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिन तथा सम्पर्कविहीन आफन्तको विवरण टिपाउन आउनेको क्रम जारी रहेको प्रहरीले जनाएको छ। अस्पताल पुगेका आफन्तले आफ्ना परिवारका सदस्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेका छन्।
प्रकाशित: १४ भाद्र २०८३ १७:३४ आइतबार



-600x400.jpg)

