२४ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

चैत महिनामा परेको पानीले आलु उत्पादन बढ्ने अनुमान

चैत महिनामा परेको वर्षाले यहाँका किसान यस वर्ष आलु उत्पादन बढ्ने आशामा उत्साहित देखिएका छन् ।

सोमबार परेको वर्षा र हिमपातले आलुबालीलाई आवश्यक चिस्यान पुगेकाले उत्पादन वृद्धि हुने आशा उत्तरी रसुवाका किसानको छ । उच्च भेगमा परेको हिउँले जमिनमा प्राकृतिक चिस्यान कायम राख्दा आलुखेतीलाई विशेष फाइदा पुग्ने बताइएको छ । उत्तरी रसुवाको गतलाङ क्षेत्रमा उल्लेख्य मात्रामा हिमापत भएको स्थानीय किसान मार लामाले बताए ।  

विगत चार वर्षदेखि माथिल्लो क्षेत्रमा मात्र सीमित हिमपात यसपटक गाउँ आसपाससम्म देखिनु सकारात्मक रहेको स्थानीयको भनाइ छ । हाल आलुबाली गोडमेल गरी दाना लाग्ने चरणमा छ । यही समयमा परेको वर्षाले बोटलाई आवश्यक चिस्यान प्रदान गरेको हो ।  

गतलाङ क्षेत्रमा आलु खनेपछि बन्दागोभी खेती गर्ने प्रचलन छ । यसका कारण यहाँ उत्पादन हुने आलु असारदेखि बजारमा आउने किसानले बताएका छन् । जसले किसानलाई थप आम्दानीको अवसर सिर्जना गरेको छ ।

कृषि विकास कार्यालय रसुवाले २०५० सालमा गतलाङ क्षेत्रलाई आलुको पकेट क्षेत्र घोषणा गरेपछि त्यहाँका ५०० भन्दा बढी घरपरिवारको आलु प्रमुख नगदे बाली हो । आलु बिक्री गरेर किसानले चामल खरिद गरी ल्याउने गरेका छन् । यस वर्ष ३०० ट्रकभन्दा बढी आलु उत्पादन हुने  किसानले  अनुमान गरेका छन् ।

प्रकाशित: २४ चैत्र २०८२ १०:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App