त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि २५ वर्षीय पठाओ चालक गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाए। झन्डै एक दिनसम्म जीवनसँग संघर्ष गरेपछि उनको वीर अस्पतालमा शुक्रबार मृत्यु भयो। एउटा सामान्य ट्राफिक तथा महानगर प्रहरीसँगको विवाद यति भयावह अन्त्यमा पुग्नु अत्यन्त दुःखद घटना हो। यसले आजको नेपाली समाज, राज्यका निकाय, युवाको मानसिक अवस्था र विरोधको संस्कृतिबारे गम्भीर प्रश्न उठाएको छ।
घटनाको वास्तविक कारण के थियो भन्ने कुरा अहिले अनुसन्धानकै विषय छ। प्रत्यक्षदर्शीहरूले महानगर प्रहरीले मोटरसाइकलमा ह्विल लक गरेपछि विवाद भएको, माफी माग्दा पनि लक नखोलिएको, त्यसपछि प्रहरीले थप्पड हानेको र लगत्तै गणेशले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको दाबी गरेका छन्। प्रहरीले भने अनुसन्धानपछि मात्रै तथ्य सार्वजनिक हुने जनाएको छ। घटनास्थलको सिसिटिभी फुटेज र अन्य प्रमाणहरूले मात्र अन्तिम सत्य स्थापित गर्ने छन्। त्यसैले अनुसन्धानअघि कसैलाई दोषी वा निर्दोष ठहर गर्नु उचित हुँदैन।
तर एउटा तथ्य निर्विवाद छ– एक युवाले सार्वजनिक सडकमा आफूलाई आगो लगाउने निर्णय गरे र त्यो निर्णयले उनको ज्यान लियो। यही बिन्दु र कोणबाट समाजले आत्मपरीक्षण र आत्मसमीक्षा गर्नुपर्छ। त्यसो त गणेश नेपाली कुनै अपराधी थिएनन्। उनी रोजीरोटीका लागि बिहानैदेखि पठाओ चलाउने संघर्षशील युवा थिए। मोटरसाइकलको किस्ता तिर्नुपर्ने चिन्ता थियो। उनले लोकसेवा परीक्षा पास गर्ने प्रयास गरिरहेका थिए। त्यसबाट पार नलागे विदेश जाने सोच उनको थियो। परिवारमा पत्नी, छोरी, वृद्ध आमाबुवा र दाजुको जिम्मेवारी उनकै काँधमा थियो।
यस्ता व्यक्तिले केही मिनेटको आवेगमा जीवन समाप्त गर्ने निर्णय किन गरे ? यसको उत्तर केवल व्यक्तिगत आवेग र स्वभावमा मात्र होइन, सामाजिक र मनोवैज्ञानिक दबाबमा पनि खोज्नुपर्छ।
हुन पनि आजको नेपाली समाजमा आर्थिक असुरक्षा र बेचैनी गहिरिँदै गएको छ। बेरोजगारी, ऋणको दबाब, महँगो जीवन र भविष्यप्रतिको अन्योलले धेरै युवालाई निरन्तर तनावमा राखेको छ। यस्ता तनावले सामान्य देखिने घटनालाई पनि असह्य अपमान वा जीवन समाप्त भएको अनुभूतिमा बदल्न सक्छ। त्यसैले गणेशको मृत्युलाई केवल ‘आवेग’ भनेर टार्न सकिँदैन। तर यससँगै अर्को अत्यन्त महत्त्वपूर्ण प्रश्न पनि उठ्छ– के अन्याय वा अपमानको विरोध गर्ने माध्यम आत्मदाह हुन सक्छ ? यसको उत्तर स्पष्ट छ, त्यसो होइन।
इतिहासमा आत्मदाहले कहिलेकाहीँ राजनीतिक आन्दोलनलाई झकझक्याएको उदाहरण पाइन्छ। तर कुनै पनि समाजमा आत्मदाहलाई स्वीकार्य विरोधको माध्यम भने मानिँदैन। यस्तो कदमले अन्यायको अन्त्यभन्दा पहिले एउटा परिवारको भविष्य समाप्त गरिदिन्छ। गणेशले न्याय पाउने सम्भावना अझै बाँकी थियो। जीवित रहन्थे भने उनले अदालत, मानवअधिकार आयोग, सञ्चारमाध्यम, सामाजिक आन्दोलन र कानुनी प्रक्रियाबाट न्याय खोज्न सक्थे तर जीवन नै समाप्त भएपछि न्यायको लडाइँ अरूको काँधमा सर्छ।
झन् चिन्ताजनक कुरा के हो भने पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालले यस्ता घटनालाई कहिलेकाहीँ ‘बलिदान’ वा ‘क्रान्ति’ का रूपमा प्रस्तुत गर्ने गर्छन्। आत्मदाहलाई भावनात्मक महिमामण्डन गरियो भने भविष्यमा तनावमा रहेका अरू युवाले पनि यही बाटो रोज्ने जोखिम बढ्छ। त्यसैले गणेशप्रति सहानुभूति व्यक्त गरिरहँदा आत्मदाहलाई विरोधको माध्यमका रूपमा अस्वीकार गर्न पनि उत्तिकै आवश्यक छ।
त्यसो त यस घटनाले राज्यका निकायमाथि पनि उत्तिकै गम्भीर प्रश्न उठाएको छ। प्रत्यक्षदर्शीहरूको दाबीलाई सत्य मान्ने हो भने एउटा सामान्य प्रशासनिक कारबाही किन अपमानजनक अवस्थासम्म पुग्यो ? सार्वजनिक सेवामा खटिएका प्रहरी वा महानगर प्रहरीले नागरिकसँग संयम, सम्मान र संवादको व्यवहार गर्न सकेका थिए कि थिएनन् ? अत्यधिक बल प्रयोग भएकै हो भने त्यसको निष्पक्ष छानबिन र कारबाही हुनैपर्छ।
यसैगरी घटनापछि उनको शरीरमा लागेको आगो निभाउन ढिलाइ भएको भन्ने प्रत्यक्षदर्शीहरूको आरोप पनि उत्तिकै संवेदनशील छ। कुनै पनि व्यक्ति दोषी होस् वा निर्दोष, जीवन बचाउनु राज्य र समाज दुवैको पहिलो दायित्व हो। त्यसबारे पनि स्वतन्त्र अनुसन्धान हुनु आवश्यक छ। यो घटना केवल प्रहरीको व्यवहार वा एक व्यक्तिको आवेगको विषय मात्र होइन। यो हाम्रो समाजमा बढ्दो असहिष्णुता, मानसिक तनाव र संवादको कमीको प्रतिबिम्ब पनि हो। सामान्य विवाद केही मिनेटमै हिंसात्मक अन्त्यमा पुग्नु स्वस्थ समाजको संकेत होइन। अहिले आममानिस रिसलाई नियन्त्रण गर्नुभन्दा तत्काल हिंस्रक बाटोमा होमिने संस्कृतितर्फ धकेलिँदै छन्। सामाजिक सञ्जालको उत्तेजना, आर्थिक दबाब र संस्थाप्रतिको अविश्वासले यो प्रवृत्ति झन् बढाएको देखिन्छ।
सत्य के हो भने गणेश नेपाली अब फर्केर आउने छैनन्। उनको परिवारले एउटा श्रीमान्, छोरा र बाबु गुमाएको छ। तर यो घटनाबाट नेपाली समाजले एउटा ठुलो पाठ सिक्न सक्छ– नागरिकमाथि राज्यको व्यवहार मानवीय हुनुपर्छ। सार्वजनिक अधिकारीलाई तनाव व्यवस्थापन र संवादका सिपमा थप प्रशिक्षण आवश्यक छ। साथै युवाका लागि मानसिक स्वास्थ्य सेवा, संकट परामर्श र कानुनी गुनासो राख्ने सहज संयन्त्र बलियो बनाउनुपर्छ।
सबैभन्दा महत्त्वपूर्ण कुरा, कुनै पनि अपमान, अन्याय वा रिस मानिसको जीवनभन्दा ठुलो हुँदैन। विरोधका लोकतान्त्रिक र कानुनी बाटा अझै खुला छन्। अदालत छ, मानव अधिकार आयोग छ, सञ्चारमाध्यम छन्, नागरिक समाज छ, सामाजिक आन्दोलन छन्। न्यायका ढोका बन्द भएको अनुभूति हुन सक्छ तर जीवन समाप्त भएपछि ती सबै ढोकाको अर्थ पनि समाप्त हुन्छ। गणेश नेपालीको मृत्युले न्यायको माग अवश्य उठाएको छ। त्यो न्याय निष्पक्ष अनुसन्धानबाट स्थापित हुनुपर्छ तर यस घटनाले अर्को सन्देश पनि दिएको छ। त्यो हो– नेपाल यस्तो समाज नबनोस्, जहाँ एउटा थप्पड, एउटा अपमान वा एउटा ह्विल लक जीवनभन्दा ठुलो बन्न पुग्छ। हामीले यो प्रश्नको उत्तर खोजेनौं भने गणेश नेपालीको मृत्यु केवल एउटा समाचारमा मात्र सीमित रहने छ। तर यसबाट राज्य, समाज र नागरिक सबैले पाठ सिके भने उनको मृत्युले कम्तीमा भविष्यमा यस्ता दुःखद घटना दोहोरिन नदिन एउटा चेतावनीको काम गर्ने छ।
प्रकाशित: २७ असार २०८३ ०६:३४ शनिबार





