२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

आजदेखि पृथ्वी राजमार्ग दैनिक ४ घण्टा बन्द

फाइल तस्बिर

पृथ्वी राजमार्ग आजदेखि यही मंसिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ। मार्गमा पर्ने पोखराको विजयपुरखोलामा निर्माणाधीन पुलको ‘ग्रिडर लन्चिङ’ कार्य सुरु हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ।

मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डले बिहान ६ बजेदेखि ८ बजेसम्म र दिउँसो १२ बजेदेखि २ बजेसम्म सडक बन्द हुने जनाएको छ।

योजना प्रमुख कृष्णबहादुर कुँवरले दैनिक चार घण्टा सडक पूर्ण/आंशिक रूपमा बन्द रहने भएकाले पृथ्वी राजमार्ग हुँदै पोखरा भित्रिने र बाहिरिने सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको जानकारी दिए। उनले अवस्था हेरी प्रत्येक ३० मिनेटमा लाइन लागेका ट्राफिकलाई क्लियर गर्न सकिने पनि जानकारी दिए।

योजना प्रमुख कुँवरले भने, ‘पोखरादेखि विजयपुर हुँदै तालचोक जाने र सोही रुट हुँदै आउने सवारी साधनलाई पूर्ण रूपमा बन्द गरी काम गर्नुपर्ने भएकाले ट्राफिक व्यवस्थापनका लागि सम्बन्धित सबैमा आग्रह गरेका छौं। सवारी चालकलाई तोकिएको समयमा वैकल्पिक सडक हुँदै यात्रा गर्न अनुरोध गरिएको छ।’

मुग्लिन–पोखरा सडक योजनाले दुई पांग्रे तथा साना सवारी साधनका लागि बुढीबजारबाट बेलचौतारा हुँदै चाउथे आउने र जाने दुईतर्फी वैकल्पिक व्यवस्था गरिएको जनाएको छ।

यसैगरी ठूला सवारीका लागि लेखनाको पावरहाउसचोकदेखि बागमारा हुँदै बिरौट आउने/जाने दुईतर्फी रुट प्रयोग गर्न आग्रह गरिएको छ।

देशको पर्यटकीय राजधानी पोखरालाई संघीय राजधानी काठमाडौं सम्म जोड्ने प्रमुख सडक पृथ्वी राजमार्ग स्तरोन्नतिका लागि मुग्लिन–पोखरा सडक योजना अन्तर्गत काम भइरहेको छ।

मुग्लिन–पोखरा सडकलाई दुई खण्डमा विभाजन गरी योजनाको काम भइरहेको हो। जामुनेदेखि आँबुखैरेनीसम्मको पूर्वी खण्डमा अधिकांश काम सकिए पनि पोखरादेखि जामुनेसम्मको पश्चिम खण्डमा हालसम्म ५९.७६ प्रतिशत भौतिक प्रगति भएको योजना प्रमुख कुँवरले जानकारी दिए।

यस खण्डको ३८.८८ किमीमा हालसम्म ३७.४ किमीमा एकतर्फी रूपमा पहिलो तहको कालोपत्र सकिएको छ। त्यसमध्ये २९.६१ किमी खण्डमा चार लेन र ७.७९ किमीमा दुई लेन कालोपत्र सम्पन्न भएको छ।

यसैगरी यस खण्डमा १२ मध्ये ११ पुल निर्माण सम्पन्न भइसकेका जनाउँदै आयोजना प्रमुख कुँवरले सेती नदीमा पुल निर्माणाधीन अवस्थामा रहेको जानकारी दिए। रासस

प्रकाशित: ६ मंसिर २०८२ ०६:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App