कैलाली जिल्ला कारागारमा शुक्रबार मध्यरातमा भएको रक्तपातपूर्ण घटना प्रशासनको चरम लापरबाही र आसन्न खतराको बेवास्ताका कारण भएको तथ्य बाहिर आएको छ।
सुरक्षा घेराभित्रै एक जनाको मृत्यु र ४९ जना घाइते हुनुभन्दा एक साताअघि नै ५९० जना कैदीबन्दीले कारागारभित्रको असुरक्षित अवस्था, भ्रष्टाचार र लागुऔषध कारोबारबारे राष्ट्रिय मानव अधिकार आयोगलाई गुहारिसकेका थिए।
तर स्थानीय प्रशासनले त्यसलाई गम्भीरतापूर्वक लिएन, जसको परिणाम स्वरूप कारागार रणभूमिमा परिणत भयो।
कारागारभित्रको अवस्था विस्फोटक बन्दै गएको संकेत कैदीहरूले एक साताअघि नै दिएका थिए। ५९० जना कैदीले हस्ताक्षर गरी राष्ट्रिय मानव अधिकार आयोगको सुदूरपश्चिम प्रदेश कार्यालयमा दिएको निवेदनमा कारागार प्रशासनको मिलेमतोमा हुने गरेको भ्रष्टाचार, लागुऔषधको खुलेआम बिक्री-वितरण, नाइके छनोटमा हुने अनियमितता र आफूहरू असुरक्षित भएको उल्लेख थियो।
‘कैदीहरूले प्रशासनबाटै आफूहरू असुरक्षित भएको, अवैध लेनदेन र लागुऔषध तस्करीबारे प्रजिअ र सुरक्षा निकायलाई जानकारी गराउँदा पनि सुनुवाइ नभएको भन्दै सुरक्षाको माग गरेका थिए,’ आयोगका प्रदेश प्रमुख प्रकाश भट्टले भने, ‘निवेदन पाएलगत्तै हामीले साउन १९ गते नै जिल्ला प्रशासनसँग १५ दिनभित्र जवाफ दिन भनी स्पष्टीकरण सोधेका थियौं र गृह मन्त्रालयलाई पनि पत्राचार गरेका थियौं।’
त्यति मात्र होइन, रक्तपात हुनुभन्दा ठीक एक दिनअघि बिहीबार दुई समूहबीच झडप हुँदा ५ जना घाइते भएका थिए। शुक्रबार दिउँसो पनि कैदीका आफन्तले पुनः ठूलो घटना हुनसक्ने भन्दै प्रशासनलाई गुहारेका थिए, तर त्यसको बेवास्ता गरियो।
शुक्रबार मध्यरात करिब १ बजे ‘नन्दु सरकार’ समूहले ब्लक ‘ए’ र ‘बी’ बीचको पुरानो बन्द ढोकाको इँटाले टालेको भित्ता फोडेर सुतिरहेका कैदीमाथि खुकुरी, रड र चक्कुले सांघातिक हमला गरेपछि कारागारको अवस्था नियन्त्रण बाहिर गएको थियो। घटनामा धनगढीका ३७ वर्षीय भरत चौधरीको मृत्यु भयो।
घाइतेको उद्धारपछि कैदीहरूले भित्रबाट ताल्चा लगाएर कारागारलाई ४० घण्टासम्म आफ्नो नियन्त्रणमा लिए। शनिबार दिउँसो अवस्था बुझ्न गएका प्रजिअ र सुरक्षा प्रमुखको टोलीसमेत भित्र पस्न नसकी फर्किएको थियो।
अन्ततः आइतबार साँझ करिब ५ बजे मानव अधिकार आयोगको रोहवरमा सशस्त्र र नेपाल प्रहरीको हतियारसहितको टोली भित्र प्रवेश गरी अवस्था नियन्त्रणमा लियो। गणना गर्दा एक मृतक र ४९ घाइतेबाहेक बाँकी ६५० कैदी सकुशल रहेको पुष्टि भएको छ।
घटनाको पृष्ठभूमि: गुण्डागर्दीको दुस्मनी
यो घटनाको जड कैलालीमा सक्रिय ‘नन्दु सरकार’ भनिने नवीन रावल र जयन्द्र शाह नेतृत्वको दुई आपराधिक समूहबीचको पुरानो दुस्मनी हो। २०७८ कात्तिकमा टीकापुरमा भएको चर्चित ‘भूपेन्द्र बडूवाल’ हत्याकाण्डपछि दुवै समूहका सदस्यहरू यही कारागारमा थिए, जहाँ उनीहरूको दुश्मनी जारी थियो। पछिल्लो समय कैदी सरुवाको विषयलाई लिएर ‘नन्दु सरकार’ समूह प्रशासनसँग थप आक्रोशित बनेको थियो, जसले यो भयानक आक्रमणको रूप लियो।
१५० जना क्षमताको कारागारमा ७०० कैदीबन्दी कोच्नु, एक महिनादेखि जेलरविहीन भई खरिदारको भरमा चल्नु र पटक-पटक दिइएको खतराको सूचनालाई बेवास्ता गर्नुले प्रशासनको चरम लापरवाही पुष्टि गरेको छ।
स्थानीय र पीडितका आफन्तले घटनाको जिम्मेवारी लिँदै प्रजिअ र जिल्ला प्रहरी प्रमुखलाई तत्काल कारबाही गर्न माग गर्दै आक्रोश पोखेका छन्।
घटनापछि मात्रै प्रशासनले अधिकृत जालन्धर भुसाललाई नयाँ जेलरको जिम्मेवारी दिएको छ।
प्रकाशित: २५ श्रावण २०८२ २१:४० आइतबार