२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

प्रधानमन्त्रीद्वारा विपिन जोशीप्रति श्रद्धाञ्जली अर्पण

इजरायलमा हमास समूहद्वारा बन्धक बनाइएपछि मारिएका नेपाली विद्यार्थी विपिन जोशीको पार्थिव शरीर सोमबार काठमाडौं ल्याइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री सुशिला कार्की लगायत उच्च पदस्थ अधिकारीहरूले राष्ट्रिय झण्डाले ढाकिएको उनको शवमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्न प्रधानमन्त्री, मन्त्रीहरू र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू विमानस्थल पुगेका थिए।

विमानस्थलमा आवश्यक प्रक्रिया पूरा गरी उनको शव आजै गृहजिल्ला कञ्चनपुरको भीमदत्तनगरपालिकास्थित निवासमा लगिने पारिवारिक स्रोतले जनाएको छ। उनको अन्तिम संस्कार कञ्चनपुरमै गरिनेछ।

सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान अध्ययनरत जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए। गत वर्ष २०२३ अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलको किबुत्ज क्षेत्रमा आक्रमण गर्दा उनी बन्धक बनाइएका थिए।

लामो समयसम्म उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु भएको पुष्टि गरेका थिए।

इजरायल र हमासबीच भएको युद्धविराम सम्झौताअनुसार बन्धक साटासाट गर्ने क्रममा हमासले जोशीको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो।

त्यसपछि गरिएको डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएको थियो।

इजरायलस्थित नेपाली दूतावासका अनुसार, फरेन्सिक जाँचबाट उनको अपहरणकै क्रममा मृत्यु भएको खुलेको थियो।

नेपाल पठाउनुअघि आइतबार इजरायलको राजधानी तेल अविव र बेन गुरियन विमानस्थलमा पनि जोशीप्रति श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको थियो।

प्रकाशित: ३ कार्तिक २०८२ १५:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App