३० भाद्र २०८३ मंगलबार
image/svg+xml
समाज

हवाई भाडा फेरि महँगिने संकेत, दुर्घटना बिमा १ लाख डलर पुर्‍याउने तयारी

सरकारले आन्तरिक हवाई दुर्घटनामा यात्रुको बिमा दायित्व पाँच गुणाले बढाएर करिब एक लाख अमेरिकी डलर पुर्‍याउने तयारी गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले अन्तर्राष्ट्रिय मापदण्डअनुसार बिमा दायित्व बढाउँदा आन्तरिक हवाई भाडादरमा समेत केही वृद्धि हुन सक्ने बताएका छन्।

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा मंगलबार ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलमा बोल्दै मन्त्री पौडेलले यसबारे जानकारी दिएका हुन्।

हाल अभ्यासमा रहेको करिब २० हजार अमेरिकी डलरको बिमा दायित्व निकै न्यून भएकाले पर्यटन विकास र अन्तर्राष्ट्रिय मापदण्ड कायम गर्न दायित्व वृद्धि अनिवार्य भएको उनको भनाइ थियो।

मन्त्री पौडेलका अनुसार बिमाको सीमा बढाउँदा वायुसेवा कम्पनीहरूको दायित्व र सञ्चालन लागत वृद्धि हुने भएकाले त्यसको असर हवाई भाडामा देखिन सक्नेछ।

‘बिमा दायित्व बढेसँगै भाडादरमा समेत केही वृद्धि हुन सक्ने सम्भावना छ, त्यसैले यसमा हामी संवेदनशील भएर छलफल गर्नुपर्छ,’ उनले भने, ‘तर पर्यटनलाई अर्थतन्त्रको मुख्य आधार बनाउने हो भने यात्रु सुरक्षा र अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्नु हाम्रो बाध्यता पनि हो।’

छलफलका क्रममा मन्त्री पौडेलले विशेषगरी दुर्गम क्षेत्रको हवाई सेवामा कायम दोहोरो भाडादर अर्थात् ‘डलर फेयर’ को कुनै स्पष्ट कानुनी आधार नै नभेटिएको खुलासासमेत गरे।

विदेशी र नेपाली यात्रुबीच भाडादरमा विभेद गर्नु न्यायसंगत नभएको उल्लेख गर्दै उनले भने, ‘विदेशी होस् वा नेपाली, यात्रुको अधिकार नागरिकताका आधारमा होइन, यात्रुका रूपमा प्राप्त हुन्छ। एउटै सेवामा नागरिकता हेरेर फरक व्यवहार गर्नु उपयुक्त हुँदैन।’

‘डलर फेयर’ हटाउँदा भाडादरमा असर पर्ने सम्भावना भए पनि यात्रुमाथि हुने विभेद अन्त्य गर्न समीक्षा आवश्यक रहेको उनले बताए।

मन्त्री पौडेलले विमानस्थल सञ्चालन र हवाई सेवासँग सम्बन्धित अन्य समस्याहरू प्रस्तावित हवाई सेवा प्राधिकरणको नयाँ संरचना बनेपछि थप व्यवस्थित रूपमा समाधान हुने विश्वास व्यक्त गरे।

प्रकाशित: ३० भाद्र २०८३ १७:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App