१ वैशाख २०८३ मंगलबार
image/svg+xml
समाज

‘रौतामाई–त्रियुगा पर्यटन महोत्सव’को तयारी पूरा

रौतापोखरी मन्दिर

आइतबारदेखि उदयपुरको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल रौतापोखरीमा सुरु हुन लागेको पर्यटन महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ। रौतामाई गाउँपालिका र त्रियुगा नगरपालिकाको संयुक्त आयोजनामा नयाँ वर्ष ०८३ लाई स्वागत गर्दै आयोजना गरिने पाँचदिने ‘प्रथम रौतामाई–त्रियुगा धार्मिक पर्यटन महोत्सव ०८२’ को तयारी सम्पन्न भएको आयोजकले जनाएको छ।

त्रियुगा नगरप्रमुख बसन्त बस्नेतका अनुसार चैत २९ देखि वैशाख ३ गतेसम्म सञ्चालन हुने महोत्सवका सबै तयारी पूरा भइसकेका छन्। त्रियुगा, रौतामाई र प्रदेश पर्यटन मन्त्रालयको प्रायोजन तथा विभिन्न दर्जनभन्दा बढी स्थानीय संस्थाहरूको सहकार्यमा सञ्चालन हुने महोत्सव रौतामाई गाउँपालिका–६ स्थित रौतापोखरी परिसरमा आयोजना गरिने उनले बताए।

त्रियुगा नगरपालिकाको सीमाक्षेत्र नजिक रहेको रौतापोखरी धार्मिक तथा पर्यटकीय दृष्टिकोणले प्रदेशकै उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ। यहाँको पर्यटन विकास गर्न सके रौतामाईसँगै त्रियुगा नगरपालिकालाई पनि पर्यटन क्षेत्रबाट महत्वपूर्ण लाभ पुग्ने उद्देश्यले महोत्सव आयोजना गरिएको नगरप्रमुख बस्नेतले बताए।

महोत्सव भव्य रूपमा सम्पन्न गर्न त्रियुगा उद्योग वाणिज्य संघ, गाईघाटका वरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठको संयोजकत्वमा मूल आयोजक समिति सक्रिय रहेको छ। रौतापोखरी उदयपुर मात्र नभई प्रदेशकै प्रमुख धार्मिक तथा पर्यटकीय स्थलमध्ये पर्ने भएकाले यसको धार्मिक, पर्यटकीय तथा ऐतिहासिक महत्वको प्रचार–प्रसार, विकास र प्रवर्द्धन गर्न महोत्सव आयोजना गरिएको हो।

यसअघि प्रत्येक नयाँ वर्षको अवसरमा धार्मिक संस्थासँगको सहकार्यमा रौतामाई गाउँपालिकाले एकदिने मेला आयोजना गर्दै आएको थियो। यस वर्ष भने पर्यटन प्रवर्द्धनको लक्ष्यसहित मेला अवधि विस्तार गरी महोत्सवको रूपमा आयोजना गर्न लागिएको रौतामाई–६ का वडाध्यक्ष पृथ्वीबहादुर राईले बताए। उनका अनुसार छिमेकी त्रियुगा नगरपालिका र प्रदेश सरकारसँगको समन्वयपछि साझेदारीको वातावरण बनेको हो।

पाँच दिनसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय जातजाति, भाषा, संस्कार–संस्कृतिको झाँकी, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, रैथाने अन्नबाली र फलफूलको बिक्री–वितरण तथा प्रदर्शनी, गुराँस क्षेत्रको अवलोकन, मन्दिर परिसरमा पूजा–आराधना र सरसफाइ, प्राकृतिक सम्पदाको संरक्षण तथा सम्बर्द्धनसम्बन्धी सन्देश प्रवाहलगायत गतिविधि गरिनेछ। यसले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने, स्थानीय कृषि उपजको बजारीकरण गर्ने तथा रोजगारी सिर्जनामा सहयोग पुग्ने अपेक्षा आयोजकले गरेका छन्।

महोत्सव अवधिभर धार्मिक पूजाआजा तथा अनुष्ठान, जातीय झाँकी तथा सांस्कृतिक प्रदर्शनी, कृषि, जडीबुटी तथा स्थानीय उत्पादनको प्रदर्शनीसँगै खेलकुद प्रतियोगिता, राफ्टिङ र प्याराग्लाइडिङजस्ता साहसिक खेलहरू पनि सञ्चालन गरिनेछन्। साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू समेत प्रस्तुत गरिनेछन्।

होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष डेबिड बस्नेतले चालु आर्थिक वर्षदेखि उदयपुरलाई पर्यटकको ‘हब’ बनाउने लक्ष्यका साथ महोत्सव आयोजना गरिएको बताए। रौतापोखरीमा पर्यटक भित्रिने प्रमुख प्रवेशद्वार गाईघाट भएकाले त्रियुगा नगरपालिकालाई साझेदार बनाइएको उनले जानकारी दिए।

बढ्दो गर्मीयाममा चिसो र अग्लो भूभागमा अवस्थित रौतापोखरीको महोत्सव पर्यटकका लागि आकर्षक हुने अपेक्षा गरिएको गाईघाटकी होटल व्यवसायी सुनिता रेग्मी राई बताउँछिन्। उनका अनुसार महोत्सवमा प्याराग्लाइडिङमार्फत खाँबु डहरसम्म अवतरण गर्ने तथा रौतापोखरीदेखि करिब २५ किलोमिटर तल धाब्लाङलाई अवतरणस्थल बनाएर रौतामाई–५ फोक्सिन्टारदेखि सुन नदीमा राफ्टिङ सञ्चालन गर्ने योजना पनि समावेश गरिएको छ।

रौतामाई गाउँपालिका अध्यक्ष वीरेन्द्र मगरले विभिन्न संघ–संस्थाहरूको सामूहिक प्रयासमा आयोजना गरिने भएकाले महोत्सव भव्य र सभ्य रूपमा सफल हुने विश्वास व्यक्त गरे। त्रियुगा नगरपालिका, प्याराग्लाइडिङ तथा ह्याङ्ग ग्लाइडिङ एसोसिएसन, त्रियुगा उद्योग वाणिज्य संघ, जिल्ला उद्योग वाणिज्य संघलगायत संस्थाहरूको सक्रिय सहभागिताले महोत्सव सफल हुने र यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने उनले बताए।

सदरमुकाम गाईघाटदेखि करिब ४२ किलोमिटर उत्तर पहाडी क्षेत्रमा अवस्थित रौतापोखरी पुग्न गाईघाट–साउने–रानीबास–डहर हुँदै त्रियुगा–१५ खाँबु भएर यात्रा गर्नुपर्छ। पैदल यात्राका लागि गाईघाट–बेलदोभान–सिद्रे–डहर–अँधेरी हुँदै करिब २२ किलोमिटर दूरी पार गर्नुपर्ने हुन्छ।

समुद्री सतहबाट ५,५३५ फिट उचाइमा अवस्थित रौतापोखरी घना जंगलबीच फैलिएको चिसो र ओसिलो क्षेत्र हो। बाह्रै महिना पानी नघट्ने पोखरीको काखमा रौतामाई मन्दिर रहेको छ। मन्दिर परिसर वरिपरि करिब पाँच किलोमिटर लामो पैदल चक्रपथ निर्माण गरिएको छ, जहाँ दुर्गा भगवती, किराती राजा यलम्बर, शिव, लक्ष्मी र सरस्वतीका प्रतिमाहरू स्थापना गरी दर्शन गर्ने व्यवस्था मिलाइएको छ।

प्रकाशित: २८ चैत्र २०८२ १७:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App