उच्च शिक्षामा नवीनता, अनुसन्धान र स्थायित्वका लागि इटहरीमा यही पुस ५ देखि हुने अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलनको तयारी पूरा भएको छ। दुई दिनसम्म चल्ने सम्मेलनमा ११२ वटा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरिने छ।
जनता बहुमुखी क्याम्पसलाई पूर्वकै शैक्षिक हबका रूपमा विकास गरेर लैजाने उद्देश्यका साथ हुन लागेको सम्मेलनमा चार वटा किनोट स्पिच, १५ वटा प्लेनरी स्पिच, चार वटा फिचर्ड स्पिच, एउटा समूह छलफल र एउटा कविता प्रस्तुति रहने छ। यस्तै अन्तरक्रियात्मक पोस्टर प्रदर्शनी, विद्यार्थी प्रतिभा जागरण सत्र, कार्यशाला र ८४ वटा कन्करेन्ट सेसन सञ्चालन हुने सहायक क्याम्पस प्रमुख तथा सम्मेलन संयोजक इन्द्रप्रसाद प्याकुरेलले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बताए। उनका अनुसार पहिलो दिनको प्रस्तुतिमा ४२ वटा अवधारणा पत्र रहने र दोस्रो दिनको प्रस्तुतिमा ३५ वटा अवधारणा पत्रसहित प्रस्तुति रहनेछन्।
कार्यक्रममा मुख्य नोट स्पिकरका रूपमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राध्यापक डा. महानन्द चालिसे, त्रिभुवन विश्वविद्यालय सिइएनएएसका कार्यकारी निर्देशक डा. मिर्गेन्द्र कार्की, कोलम्बिया विश्वविद्यालय टिचर्स कलेज न्युयोर्क अमेरिकाका डा. प्रेम फ्याक र बाबा मस्तनाथ विश्वविद्यालय भारतका पूर्वउपकुलपति प्रोफेसर एचएल वर्मा सहभागी हुनेछन्।
कार्यक्रममा पाँचजना विदेशी विज्ञसहित नेपालका नाम चलेका अन्य १२ जना गरी १६ जना प्लेनरी स्पिकरका रूपमा रहेका छन्; जसमा दुई जनता कलेजकै प्राध्यापक रहेका छन्। यस्तै चारजना फिचर्ड स्पिकरका रूपमा रहेका छन्। यस्तै अन्तरक्रियात्मक पोस्टर प्रदर्शनी, विद्यार्थी प्रतिभा जागरण सत्र, कार्यशाला र कन्करेन्ट सेसन सञ्चालनका लागि पनि अलग–अलग प्रस्तुति रहनेछन्।
सम्मेलनका लागि खानपान, बसोबास, स्वागत, कार्यक्रमको तालिका, प्रचारप्रसार, आर्थिकलगायतका सबै समितिले आफ्नो काम पूरा गरेका छन्। नेपालकै सामुदायिक कलेजमध्ये जनता बहुमुखी धेरै विद्यार्थी भएको कलेजमा पर्छ। त्यसमा पनि कोसी प्रदेशको केन्द्रमा पर्ने र सबैलाई पायक पर्ने अनि विद्यार्थी अध्ययन गर्न आउनेको रोजाइको केन्द्र बनेको छ। शैक्षिक विज्ञ र अनुसन्धानकर्ताबिच अन्तर विषय संवाद र सहयोगलाई गति लिँदै समसामयिक विश्वका चुनौती सामना गर्न, समयसापेक्ष शिक्षालाई परिवर्तन र परिष्कृत गरेर लैजान नवीन शैक्षिक नमुनाका लागि संरचनात्मक अध्ययन गर्नुपर्छ भन्ने सोचले कार्यक्रम गर्न लागिएको सञ्चालक समिति अध्यक्ष केसीले बताए।
सम्मेलनमार्फत मानविकी, शिक्षा, व्यवस्थापन, भाषा शिक्षण जस्ता विविध क्षेत्रका विद्वान्, अनुसन्धानकर्ता, नीति निर्माता तथा सरोकारवालाबिच अन्तर विषयक संवाद र सहयोगलाई विशेष महत्त्व दिँदै समकालीन चुनौतीप्रति समग्र दृष्टिकोणलाई बढावा दिन योगदान पुग्ने विश्वास लिइएको छ। यस्तै शिक्षाको दिगो विकासका लागि, प्रविधि अनुकूलको शिक्षण र उपकरणलाई एकीकृत गर्ने नवीन शैक्षणिक नमुनाहरूको समालोचनात्मक अध्ययन र प्रसार गर्न पनि योगदान पुग्ने छ। सम्मेलनले स्थायी समाज प्रवर्द्धनमा मानविकी र सामाजिक विज्ञानको भूमिकालाई अन्वेषण र विकास गर्नु, व्यवस्थापन शिक्षा र व्यावसायिक संस्थामा स्थायी र व्यावसायिक इमानदारिसँग सम्बन्धित काममा अनुसन्धान र प्रवर्द्धन गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।
उच्च गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि शिक्षक सशक्तीकरणको केन्द्रीय भूमिकालाई सम्बोधन गर्दै शिक्षकको व्यावसायिक विकास, क्षमता निर्माण र उनीहरूको कल्याणलाई बढावा दिने प्रभावकारी रणनीति पहिचान गर्न पनि यस सम्मेलनले योगदान पुग्ने क्याम्पस सञ्चालक समिति सदस्य एवम् पदपूर्ति समितिका संयोजक चन्द्रप्रसाद भट्टराईले बताए।
सम्मेलनका लागि ३५ लाख खर्च लाग्ने छ। यसक्रममा सहभागीबाट रजिस्ट्रेसन शुल्कबापत प्रतिव्यक्ति दुई हजार पाँच सय लिने निर्णय भएको छ। यस्तै इटहरी उपमहानगरपालिकाले सात लाख रुपैयाँसम्म दिने घोषणा गरेको छ। यो कार्यक्रमको अभिभावकत्व पनि उपमहानगरपालिकाले लिने भएको छ।
प्रकाशित: ४ पुस २०८२ ०८:३९ शुक्रबार





