१८ मंसिर २०८२ बिहीबार
image/svg+xml १७:५३ अपराह्न
समाज

मृतक दुई बालबालिकाका बावु भन्छन्: 'दु:खमा छु, कसरी जाहेरी दिन जाउँ'

दुई दिनदेखि शव अस्पतालमै

एक्कासि घर छाडेर बेपत्ता भएकै दिनपछि लडेर ज्यान गुमाएका खोटाङका २ बालबालिकाको शव चिहानबाट निकालेर अस्पताल लगेको २ दिन हुँदा पनि पोस्टमार्टम हुन सकेको छैन । जिल्लाको दिप्रुङचुईचुम्मा गाउँपालिका ३ छोरम्बुबाट साउन २२ गते बेपत्ता भएका ६ बालबालिकामध्ये गोविन्द बस्नेतका २ छोराछोरी मृत भेटिएका थिए ।

चिहान ठाउँबाट प्रहरीले निकालेर अस्पताल लगे पनि जाहेरी दिने मान्छे नहुँदा अस्पतालमै शव राख्नु परेको स्थानीयले बताएका छन् । हराएका बालबालिका परिवारले खोज्दै जाँदा सोही वडाको सापातेल जङ्गलको भीरमुनि एकाघरका ११ वर्षीया मेनिषा र ६ वर्षीय छोरा मेगराज बस्नेत मृत फेला परेका थिए ।

मृतक बालबालिका दुवै गोविन्दका छोराछोरी हुन् । सँगै हिँडेका ४ जना भने भोलिपल्ट बिहान स्थानीय जङ्गलबिचको ओडारमा सकुशल बास बसेको अवस्थामा भेटिएका थिए । खोज्दै जाँदा राति ८ः०० बजेजस्तो समयमा मृत भेटिएपछि जङ्गलमै गाउँले भेला भएर रातभर बालबालिकाको शव रुघेर भोलिपल्ट घर ल्याई अन्त्यष्ठी गरेका थिए ।  

तर, यो कुरा प्रहरीमा पुगेपछि सदरमुकामबाट आएको टोलीले सोमबार चिहानबाट शव निकालेर पोष्टमार्टमका लागि दिक्तेलस्थित जिल्ला अस्पताल पुर्‍याएको हो । तर, जाहेरी नपरेपछि पोष्टमार्टम गर्न नसकिएको प्रहरीको भनाइ छ ।

दिप्रुङचुईचुम्मा ३ का वडाध्यक्ष भूपेन्द्र बस्नेतले घर छाडेर हिँडेका ६ मध्ये २ जना भीरबाट लडेर मरेको गाउँलेहरूले यकिन गरेपछि सामाजिक परम्परा अनुसार घर ल्याएर अन्त्यष्ठी गरिएको बताए । तर, जिल्ला प्रहरी कार्यालयको टोलीले गाडिसकेको बालबालिकाको शव निकालेर पोष्टमार्टम गर्न अस्पताल लगेको वडाध्यक्ष बस्नेतले बताए । वडाध्यक्ष बस्नेतले भने ‘कहाँकहाँ डुल्न गए, फर्कँदा बाटोको भेउ नपाएर होला आउँदाआउँदै जङ्गलको भीरमा लडेर ज्यान गएछ ।’ 

गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले घटना हुँदा आफू गाउँबाहिर रहेको बताउँदै गाउँलेहरूले लडेर मृत्यु भएको भन्ठानेर अन्त्यष्ठी गरेको हुन सक्ने बताए । प्रहरीले शव चिहानबाट निकालेर अस्पताल लगेको बताउँदै अध्यक्ष राईले  भर्खर गाउँ आइपुगेकाले यसबारे आफूलाई धेरै जानकारी नभएको बताए । अध्यक्ष राईले कानुनी पक्ष र व्यवहारिक पाटो दुवै हेरेर निर्णय गर्न सहजीकरण गर्ने बताए ।

निमित्त जिल्ला प्रहरी प्रमुख इन्स्पेक्टर सुशान्त मिश्रले अप्राकृतिक रुपमा मृत्यु भएको शव पोष्टमार्टम नगरी अन्त्यष्ठी गर्न नपाइने कानुनी प्रावधान अनुसार गाडेको शव निकालेर अस्पताल पठाएको स्वीकारे । ‘२–२ जनाको ज्यान गएको छ, त्यो पनि अप्राकृतिक, यसबारे अनुसन्धान गर्नुपर्ने हुन्छ’ इन्स्पेक्टर मिश्रले भने ‘त्यसैले चिहानबाट दुवै शव निकालेर पोष्टमार्टमका लागि अस्पताल पठाइएको हो ।’

घटना सम्बन्धमा अहिलेसम्म कोही व्यक्तिलाई पक्राउ नगरिएको पनि उनले बताए । शव पोष्टमार्टम गर्न अस्पतालमा राखिएको तर, अहिलेसम्म जाहेरी दिने मान्छे नभएकाले अरु प्रक्रिया अघि बढ्न बाँकी रहेको उनले बताए । ‘जाहेरी परेपछि पोष्टमार्टम हुन्छ अनि अन्य कानुनी कारबाहीको प्रक्रिया अघि बढ्छ’ उनले भने ।

वडाध्यक्ष बस्नेतका अनुसार, मृतकका बाउ गोविन्दले बाँचेकी एक नबालिका छोरी र आफू मृतक छोराछोरीको क्रिया कर्ममा दुःख बारेर बसेकाले अप्ठेरो परेको बताएका छन् । ‘जाहेरी दिने मान्छे गोविन्द आफै छोराछोरीको दुःखले भावविह्वल छन्, त्यैमाथि आफै छोराछोरीको क्रिया बारेर बसेका छन्’ उनले भने ‘यस्तो अप्ठेरो कानुनी अड्चन आइलाग्यो कि भनी साध्य छैन ।’

प्रकाशित: २७ श्रावण २०८२ १८:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App