२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, दुई जना पक्राउ

नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत मोरङको जहदा गाउँपालिकाबाट लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेर दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

नेपाल–भारत सीमा क्षेत्र नजिक जहदा गाउँपालिका–२ तारिगामा शनिबार राति साढे १० बजेतिर गाँजा भारततर्फ लैजाँदै गर्दा २ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुँडालले जानकारी दिइन्। उनका अनुसार नेपालबाट भारतर्फ गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा इन्स्पेक्टर सरोज खनालको नेतृत्वमा गएको टोलीले २ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिने क्रममा हवाई फायर गर्नुपरेको हो।  

प्रहरीले हवाई फायर गरेर गाँजा ओसारपसारमा संलग्न भारतको अररिया चन्दामोहन–५ का २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खानलाई ३ सय ३० केजी गाँजासहित नियन्त्रणमा लिएको बताउँदै डिएसपी चुँडालले भनिन्, ‘गाँजा ओसारपसार भइरहेको छ भन्ने खबर आएपछि इन्स्पेक्टर सरोज खनालको नेतृत्वको टोली घटनास्थल पुग्दा टाउकोमा गाँजाको बोरा राखेर ओसारपसार गर्ने काम भइरहेको थियो। तर, ओसारपसारमा संलग्नहरु प्रहरीलाई देख्नसाथ गाँजाको बोरा फालेर फरार भएका थिए। त्यस क्रममा प्रहरीले १ राउण्ड हवाई फायर गरेसँगै उनीहरुलाई नियन्त्रणमा लिएको हो।’

कोशी प्रदेशका पहाडी जिल्लामा उत्पादन हुने गाँजा भारतमा मूल्य दोब्बरभन्दा बढी पर्ने भएकाले पनि गाँजा भारत सुरक्षाकर्मीलाई छलेर लैजाने गरिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङमा पक्राउ परेका दुवै जनालाई राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ पुस २०८२ १०:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App