सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा शिक्षक कर्मचारी सरुवाको विषयमा विरोध गर्न पुगेका अभिभावक संघ, अभिभावक, सामुदायिक विद्यालय व्यवस्थापन समिति, र शिक्षकहरुमाथि शान्तिपूर्णरुपमा विरोध कार्यक्रम गर्न गएका बेला प्रहरीले गरेको दमनसम्बन्धमा छानबिन सुरु भएको छ ।
प्रहरी प्रधान कार्यालयको निर्देशनमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (एसएसपी) केदारप्रसाद खनालको संयोजकत्वमा गठित ५ सदस्यीय छानबिन समितिले बुधबारदेखि काम सुरु गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कार्यरत प्रहरी निरीक्षक राजनकुमार भट्टराईले शिक्षक कर्मचारी सरुवाको विरोधमा गएकाहरुलाई बल प्रयोग गरी कुटपिट गरी हतकडी लगाएर प्रहरी कार्यालयमा ल्याएका थिए । सामान्य विरोध प्रर्दशन तथा तालाबन्दी कार्यक्रममा प्रहरी निरीक्षक भट्टाराई अमानवीय रुपमा प्रस्तुत भएको र मानवअधिकार हनन् गरेको भन्दै उजुरी परेपछि गृह मन्त्रालय हुँदै प्रहरी प्रधान कार्यालयले छानविन समिति बनाउन निर्देशन दिएको थियो ।
पाँच सदस्यीय छानविन समिति बनाएर बुधबारदेखि काम सुरु भएको एसएसपी खनालले बताए । छानविन समितिले प्रहरी निरीक्षक भटटराईलाई बयान लिई प्रतिवेदन पेश गर्नेछ ।
आफूलाई सामान्य विरोध प्रदर्शनमा हतकडी लगाई पटक पटक गोप्य अंगमा प्रहार गरेको र गाडीमा राखेर कार्यालय लैजाँदै गर्दा बाटोमा पनि कुटपिट गरेको, जिल्ला प्रहरी कार्यालयभित्र गाडीबाट झार्दा अमानवीय रुपमा लछारपछार गर्दै हिरासत कक्षमा पुर्याएको पीडित बखत शाहीले बताए ।
पीडित शाहीले भने, छानबिन समितिले सत्यतथ्य बुझी कारबाही गर्ने छ भन्ने विश्वास लिएका छौं । साथै निजलाई कारबाही नभएमा थप कानुनी प्रकृयामा जान बाध्य हुनेछौं । छानविन समितिले पीडितहरु गोविन्द कोइराला, चित्रनाथ योगी, भक्तबहादुर शाहीसँग पनि घटनाबारे सोधपुछ गरेको छ । वीरेन्द्रनगर नगरपालिकाले आफन्त र आफू निकट राजनीतिक आस्था राख्ने शिक्षक कर्मचारीलाई एकलौटी रुपमा नियमविपरित सरुवा गरेको भन्दै नगरपालिकामा विरोध भएको थियो ।
प्रकाशित: २६ कार्तिक २०८२ १४:५२ बुधबार





-1200x560-600x400.jpg)