४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

स्थानीय युवाको पहलमा बिर्तामोडमा प्रहरी र ट्राफिक कार्यालय पुनर्निर्माण

जेन-जी आन्दोलनका क्रममा ध्वस्त बनेको बिर्तामोडस्थित प्रहरी कार्यालय र ट्राफिक कार्यालय पुनः निर्माण भएको छ। मंगलबार इलाका प्रहरी कार्यालय, अनारमुनिमा बसेको समन्वय बैठकले भवन सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको निष्कर्ष निकालेको छ। बैठकले आगामी दिनमा बिर्तामोड क्षेत्रको शान्ति–सुरक्षालाई सहज बनाउन नवनिर्मित कार्यालयबाट सेवा प्रारम्भ गर्ने निर्णय गरेको छ।

भवन पुनर्निर्माणमा स्थानीय युवाहरूको सक्रिय भूमिका रहेको छ। अभियानका अभियन्ता सजेस सिवाकोटी, पदम श्रेष्ठ, रमेश चौधरी र विपिन बजगाईँले पहल गरेर काम सम्पन्न गरेका हुन्। अनुगमनका क्रममा इलाका प्रहरी कार्यालय अनारमुनिका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) विजय श्रेष्ठ र प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डिएसपी गणेश पौडेललगायत सुरक्षाकर्मीको सहभागिता थियो। अनुगमनपछि डिएसपी श्रेष्ठले कार्यालय सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भएको बताए।

भवन पुनर्निर्माणमा अनुमानित ९० लाख रुपैयाँ खर्च भइसकेको छ भने केही रकम अझै खर्च गर्न बाँकी रहेको अभियानका अभियन्ता विपिन बजगाईँले बताए। उनले स्थानीय तह, व्यापारी तथा आम नागरिकको आर्थिक–सामाजिक सहयोगले मात्रै यो सम्भव भएको बताए।

प्रकाशित: १४ आश्विन २०८२ १६:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App