पर्यटकीय सहर पोखरामा फोहोर व्यवस्थापन अझै पूर्ण रूपमा सञ्चालनमा आएको छैन। दुई हप्ताभन्दा बढी समय बितिसक्दा पनि सहरका विभिन्न चोकचोकमा फोहोर थुप्रिएको छ। सडक किनारमा फ्याकिएको फोहोर केही भाग महानगरले उठाएर व्यवस्थापन गरे पनि घरघरमा थुप्रिएको फोहोर उठाउन सकिएको छैन। अहिले पोखराका धेरै घरमा फोहोरको थुप्रो देखिन्छ।
फोहोर व्यवस्थापनको नयाँ स्थलको विवाद बढ्दै गएपछि व्यवस्थापनमा समस्या आएको महानगरले जनाएको छ। पहिले पोखरा महानगरपालिका–३२ लामेआहालमा फोहोर व्यवस्थापन भइरहेको थियो। तर, लामेआहालमा फोहोर थुप्रिएको ठाउँ भरिएकोले महानगरले नयाँ व्यवस्थापन स्थल खोज्न थालेको छ। फोहोर घरघर र सडक किनारमा थुप्रिदा सिंगो पर्यटकीय सहर दुर्गन्धित भएको छ।
लामेआहालमा व्यवस्थापन गर्ने ठाउँ भरिएको र नयाँ स्थान नपाएको कारण फोहोर उठाउन नसकेको महानगरको भनाइ छ। नयाँ स्थान खोज्ने काम चलिरहेको भए पनि अहिलेसम्म कुनै यकिन निर्णय हुन सकेको छैन। पोखरा–३२ कै मझुवामा तत्कालका लागि फोहोर व्यवस्थापन गर्न सकिने निष्कर्ष भए पनि टुंगो भने लागेको छैन।
एकातिर ल्याण्डफिल साइटको अभावले फोहोर सडकमै थुप्रिएको छ भने अर्कोतिर पोखरा–३३ झाक्रिखोलामा ल्याण्डफिल साइटमा आधुनिक फोहोर प्रशोधन केन्द्र बनाउने योजना अघि बढाइएको छ। तर, फोहोर प्रशोधन केन्द्रको विरोधले स्थानीय आन्दोलन सुरु भएको छ। महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले नयाँ ठाउँ नपाएपछि अहिले पोखरा–३२ कै मझुवामा फोहोर व्यवस्थापन गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए। लामेआहाल र मझुवा नजिकैका स्थान भएकाले अस्थायी संरचना बनाएर व्यवस्थापन गर्न सकिने तर्फ ध्यान दिइएको छ। तर, लामेआहालमा समेत फोहोर व्यवस्थापन गर्दा कहिलेकाहीं अवरोध हुने गरेको छ।
तिवारीले भने, ‘लामेआहालमा फोहोर व्यवस्थापन गर्ने पुरानो ठाउँ भरिएको छ। नयाँ ठाउँ नपाएपछि खोजी गरिएको हो। स्थायी ठाउँ खोज्ने क्रममा विवाद चुलिएको हुँदा अहिले फोहोर उठाउन सकिएको छैन। तर, मझुवामा अस्थायी संरचना बनाएर भए पनि फोहोर व्यवस्थापन गर्न सकिने तर्फ ध्यान दिइएको छ। केही दिनभित्र फोहोर व्यवस्थापन हुनसक्छ।’
उनका अनुसार फोहोर व्यवस्थापन नहुँदा सहर दुर्गन्धित हुने अवस्था आएपछि सडक किनारमा फ्याकिएको फोहोर उठाएर पोखराकै सार्वजनिक क्षेत्रमा खाडल खनेर पुरिएको छ। महानगरले आफ्नै दमकल राखिएको जग्गामा खाडल खनेर फोहोर पुरिएको उनले जानकारी दिए। ‘सडकमा फोहोर थुप्रिएपछि दुर्गन्ध बढ्यो। त्यसपछि फोहोर उठाएर पुरेर व्यवस्थापन गरेका छौँ। तर, घरघरमा थुप्रिएको फोहोर भने उठाउन सकिएको छैन। घरको फोहोर उठाउन अझै केही समय लाग्नेछ,’ उनले भने।
फोहोर व्यवस्थापनमा समस्या आएपछि पोखरा महानगर आलोचित भएको छ। पर्यटकीय राजधानीमा सडक किनारमा फोहोर थुप्रिएको अवस्थामा महानगरप्रति असन्तुष्टि बढिरहेको छ। तत्काल फोहोर उठाउन नसके अझै दुर्गन्ध फैलने चिन्ता स्थानीयबासीमा रहेको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउने बेलामा महानगरले वडा नं. १४ को बाच्छेबुडुवा स्थित पुरानो ल्याण्डफिल साइट बन्द गरी पोखरा–३२ को लामेआहालस्थित सेती नदी किनारमा फोहोर व्यवस्थापन गर्न थालेको थियो। स्थानीय विरोधका बाबजुद पनि महानगरले ६ महिनाका लागि त्यहाँ फोहोर खसाल्न सुरु गरेको थियो। तर, अहिले उक्त ठाउँ भरिएकोले नयाँ स्थान खोज्न बाध्य भएको पनि तिवारीले जानकारी दिए। विकास निर्माणलाई प्राथमिकता दिएर मझुवामा फोहोर व्यवस्थापन गर्ने तर्फ महानगरको ध्यान गएको उनले बताए।
पोखरामा दैनिक १५० देखि २०० टन फोहोर उठ्ने गरेको छ। यसमा औद्योगिक क्षेत्र र अस्पतालको फोहोर पर्दैन। पोखराभित्रको फोहोर दैनिक २० वटा गाडीमार्फत उठाइन्छ। महानगरले विभिन्न ६ वटा निजी कम्पनीलाई फोहोर संकलन गर्ने जिम्मा दिएको छ। हरेक घरबाट शुल्क उठाएर ती कम्पनीले फोहोर संकलन गर्दै आएका छन्।
प्रकाशित: १२ माघ २०८२ १८:१७ सोमबार





