कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ की ५० वर्षीय समानी चौधरीको मिर्गौलामा पत्थरी देखा पर्यो। मिर्गौलाको पत्थरीको शल्यक्रिया गर्नु जटिल उपचार थिएन। तर धनगढीको केजी हस्पिटलमा चिकित्सकले शल्यक्रिया गर्दा गरेको कमजोरीका कारण बिहीबार चौधरीको मृत्यु भयो। बिहीबार हस्पिटल भर्ना भएकी उनको शल्यक्रिया पछि केही घण्टामै ज्यान गएको थियो।
अस्पतालले कमजोरी गरेर बिरामी मारेको भन्दै आफन्त र स्थानीयले विरोध गरे। विरोधपछि अस्पतालले मृतकका आफन्तलाई २२ लाख रुपैयाँ दिएर घटनालाई सामसुम पारे। मृतकका छोरा सुनिल चौधरीलाई २ लाख रुपैयाँ नगद र प्रति महिना ५, ५ लाख झिक्न मिल्ने गरी २० लाखको ४ चेक अस्पतालले दिएको श्रोतले बताएको छ।
सेती प्रादेशिक अस्पतालमा नेपाल सरकारको छात्रवृत्ति करार सेवामा कार्यरत चिकित्सक अरुण पाण्डेयको टिमले ती महिलाको शल्यक्रिया गरेको थियो।
यो एक प्रतिनिधि उदाहरण मात्र हो। सुदूरपश्चिमको अस्थाई राजधानी रहेको धनगढीमा च्याउ जस्तै निजी अस्पतालहरू सञ्चालनमा छन्। ती अस्पतालको कमजोरीले सामान्य अवस्थामा रहेका बिरामीको पनि अकालमै मृत्यु हुने घटना निरन्तर घट्ने गरेका छन्। कमजोरीले बिरामीको मृत्यु भएपछि अस्पतालले आफन्तलाई मोल मोलाई गरेर मोटो रकम दिएर घटना सामसुम पार्ने गरिएको छ।
‘बिरामीका आफन्तले मागे बमोजिम रकम दिएर घटना सामसुम पारिन्छ। २०, २२ लाख देखि ४८ लाख सम्म दिएर घटना सामसुम पारिएका छन्,’निजी अस्पतालमा कार्यरत एक चिकित्सकले भने।
धनगढीमा पछिल्लो केही वर्षमा मात्र कमजोरीले बिरामीको मृत्यु भएपछि मोटो रकम दिएर सामसुम पारिएका घटना १८, २० रहेको उनले बताए।
‘कतिपय घटना बाहिर आउँछन्, धेरैजसो त गुपचुप मिलाइन्छ,’उनले भने, ‘पैसा दिने र लिने दुवै गलत हुन’।
चिकित्सकको कमजोरी हो भने कानुन बमोजिम कारबाही गरिनुपर्ने स्थानीय बताउँछन्। ‘पैसा दिएर कमजोरी लुकाईदा त्यही चिकित्सकले अर्का बिरामी मार्ने सम्भावना रहन्छ,’स्थानीय युवा दिनेश बोहरा भन्छन्।
चिकित्सकको र अस्पतालको कमजोरी भएका घटनामा बिरामीका आफन्तले मागे बमोजिमको पैसा दिएर घटना मिलाउने गरेका छन्। ‘अस्पतालको र चिकित्सकको छवि बिग्रने डरले पनि अस्पताल बिरामीका आफन्तलाई मागे बमोजिमको पैसा दिएर घटना सामसुम गर्नुपरेको छ,’ एक निजी अस्पतालका सञ्चालकले भने।
स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले निजी अस्पताल मापदण्ड अनुरूप सञ्चालन भए नभएको मात्र हेर्ने क्षेत्राधिकार स्वास्थ्य कार्यालय सँग रहेको बताए। निजी अस्पतालमा बिरामीको मृत्यु हुने घटनामा पैसा दिएर मिलाउने प्रवृत्ति उचित नभएको उनी बताउँछन्।
‘बिरामीको मृत्यु पछि आफन्तलाई पैसा दिएर मिलाउनुले कमजोरी स्विकारेको जस्तो देखिन्छ,’उनले भने,‘स्वास्थ्य कार्यालयको क्षेत्राधिकार भित्र चिकित्सकले गर्ने कमजोरी र घटना लुकाउन गरिने पैसा लेनदेन पर्दैन’। अस्पतालमा बिरामी मृत्यु हुने र पैसा दिएर मिलाउने प्रवृत्ति स्वास्थ्य क्षेत्रमा विकृति र बेथिति रहेको उनको भनाई छ।
जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी पीडितले उजुरी नदिँदा सम्म चिकित्सकको कमजोरी भए नभएको थाह नहुने बताउँछन्। पीडित र अस्पताल बिच पैसो लेनदेन गरेर घटना मिलाउने कुरा अवैध भएको उनले स्विकारे।
चिकित्सकको कमजोरीले मृत्यु भएको वा अवैध रूपमा लेनदेनमा घटना मिलाएको जाहेरी आएमा घटनाको छानबिन र अनुसन्धान गरिने उनले बताए। चिकित्सकको कमजोरी गरेमा कारबाहीका लागी मेडिकल काउन्सिलमा र पीडितलाई क्षतिपूर्ति दिन उपभोक्ता अदालतमा उजुरी दिइनुपर्ने उनको भनाई छ।
धनगढीमा च्याउ जस्तै खुलेका अधिकांश निजी अस्पतालमा मापदण्ड बमोजिम गुणस्तरीय सेवा, शय्या र उपकरण छैनन्। निजी अस्पताललाई नियमन र नियन्त्रण गर्ने कानुन प्रदेश सरकारले बनाउनु पर्नेमा अहिले सम्म कानुन बनाएको छैन।
निजी अस्पतालमा मापदण्ड बमोजिमको गुणस्तरीय सेवा र सुविधाको नियमन र नियन्त्रण गर्नका लागी प्रदेश सरकारले अहिले सम्म कानुन नबनाउँदा समस्या भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख कुँवरले बताए।
मापदण्ड पुरा नगरी पहुँच र प्रभावका आधारमा सञ्चालित निजी अस्पतालले मनपरी ढंगले सर्वसाधारण बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्ने गरिएको स्थानीयको गुनासो छ।
सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाड र ब्रह्मलुट हुँदा पनि राज्यका निकायबाट नियमन र नियन्त्रण नभएको स्थानीय बताउँछन्। सरकारी अस्पतालका गएका बिरामीलाई समेत निजी अस्पताल पठाउने गरिन्छ।
निजी अस्पतालहरूले विभिन्न गाउँ, बस्ती र ठाउँमा आफ्ना एजेण्ड राखेका हुन्छन्। विभिन्न ठाउँमा रहेका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, मेडिकल सञ्चालक तथा अन्य व्यक्तिलाई समेत अस्पतालमा बिरामी पठाएबापत आकर्षक कमिशन दिने गरेको निजी अस्पतालका कर्मचारी बताउँछन्। उपचारका लागी अस्पताल पुगेका सोझासाझा सर्वसाधारणको स्वास्थमाथी खेलबाड हुने गरेको उनीहरूको गुनासो छ।
रोग पत्ता लगाउन नसके पनि अनुमानका भरमा औषधी दिएर राख्ने, रेफर गर्नु पर्ने बिरामीलाई पनि अल्झाएर राख्ने, परीक्षण गर्न आवश्यक नभएको पनि परीक्षण गर्न लगाउने र अदक्ष चिकित्सकले पनि शल्यक्रिया गर्ने गर्दा बिरामीको ज्यान जाने गरेको बिरामीका आफन्त बताउँछन्।
सरकारी अस्पतालमा कार्यरत अधिकांश चिकित्सक कार्यालय समयमा त्यहाँ नबसेर निजी अस्पताल र क्लिनिकमा उपचार गर्ने गर्छन्। सरकारी अस्पतालमा पुग्ने बिरामी पनि उपचार नपाएर निजी अस्पताल जान बाध्य हुने गरेका छन्।
प्रकाशित: २४ श्रावण २०८३ १७:२६ आइतबार


-600x400.jpg)


