एसियाली विकास बैंकको ऋण अनुदानमा कैलालीको धनगढीमा निर्माण भइरहेको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रको भौतिक प्रगति करिब ८० प्रतिशत सम्पन्न भएको छ।
धनगढी उपमहानगरपालिका–७ पटेलामा निर्माणाधीन एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र क्षेत्रीय सहरी विकास परियोजना/स्थानीय एकीकृत हेरचाह बोर्ड (आरयुडिपी/आइसिबी) अन्तर्गत निर्माण भइरहेको हो।
क्षेत्रीय परियोजना कार्यान्वयन एकाइ धनगढीका सूचना अधिकारी पुष्पराज भट्टले भने ‘अहिले ८० प्रतिशत भन्नाले मेजर कामहरू सम्पन्न भइसकेको अवस्था हो। त्यहाँ सबैजसो संरचना बनी सकेका छन्। बाँकी संरचनाका लागि भेरिएसनको कार्य भइरहेको छ।’
परियोजनामा भेरिएसनसँग सम्बन्धित विषयसमेत भएकाले स्वीकृतिका लागि विभागमा फाइल पुगेको भए पनि जेनजी आन्दोलनले कार्यालय नै जलेर नष्ट भएको उनले बताए। उनले भेरिएसनका लागि पठाइएको फाइल जलेर नष्ट भएकाले फेरि पठाउनुपर्ने भएको हुँदा केही समय लाग्ने पनि बताए।
कार्यान्वयन एकाइ र चीनको सिचुआन प्रोभिन्स जिओलोजिकल इन्जिनियरिङ कम्प्लेक्स कम्पनी लिमिटेडबिच २०२२ डिसेम्बर २९ देखि २०२६ अप्रिल ३ सम्म व्यवस्थापन केन्द्रको निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो। कार्यान्वयन एकाइ र कम्पनीबिच ९८ करोड ८२ लाख ३९ हजार ६ सय ४६ रुपैयाँमा ठेक्का सम्झौता भएको जनाइएको छ।
हालसम्म परियोजना सम्झौतामा अंकित रकमको ६९ प्रतिशत खर्च भएको कार्यान्वयन एकाइले जनाएको छ। व्यवस्थापन केन्द्र २२ हजार हेक्टर क्षेत्रफल जमिनमा निर्माणाधीन छ।
कार्यान्वयन एकाइका सूचना अधिकारी भट्टले सम्झौता अवधिभित्रै काम सम्पन्न गर्ने गरी काम अगाडि बढिरहेको बताए। कुनै विशेष कारणले सम्झौता अवधिभित्र काम सम्पन्न नभएका खण्डमा मात्रै नयाँ म्याद थप गरिने र अहिलेसम्म म्याद थपसम्बन्धी कुनै प्रक्रिया नबढाइएको उनको भनाइ छ।
सिचुआन प्रोभिन्स जिओलोजिकल इन्जिनियरिङ कम्प्लेक्स कम्पनी लिमिटेडका कन्ट्याक्ट म्यानेजर अशोक पाण्डेका अनुसार अहिले करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको छ। अब एउटा भेरिसिएन अर्डर हुन बाँकी भएकाले अलिकति समय लागेको उनको दाबी छ।
प्रकाशित: २८ आश्विन २०८२ ०८:२७ मंगलबार





