फुङलिङ नगरपालिका वडा नं ८ ले आइतबारदेखि आफ्नै नवनिर्मित भवनबाट दैनिक प्रशासनिक सेवा प्रवाह सुरु गरेको छ।
नयाँ भवनको उद्घाटन नगरप्रमुख अमिर मादेन, उपप्रमुख भीमादेवी ओझा र वडा नं ८ का वडाध्यक्ष क्षितिज सुनुवारले संयुक्त रूपमा गरेका छन् ।
उद्घाटन समारोहमा नगरप्रमुख मादेनले नगरक्षेत्रका आवश्यक पूर्वाधार क्रमशः पूरा गर्दै लगिएको बताए। सीमित स्रोत–साधनका बाबजुद विगतमा सुरु गरिएका संरचनालाई पूर्णता दिन प्रयासरत रहेको उहाँको भनाइ थियो। भवन र सडकसँगै शिक्षा, स्वास्थ्य, खानेपानी र विद्युतजस्ता आधारभूत सेवामा समेत ध्यान केन्द्रित गरिएको बताए ।
उपप्रमुख ओझाले सीमित बजेटका कारण सबै अपेक्षा एकैपटक पूरा गर्न नसकिने यथार्थ रहेको उल्लेख गर्दै नागरिकका न्यूनतम र प्रमुख आवश्यकतालाई प्राथमिकतामा राखी चरणबद्ध रूपमा काम अघि बढाइएको बताइन ।
वडाध्यक्ष सुनुवारले अधिकांश वडाले आफ्नै भवनबाट सेवा दिन थालेकाले नागरिकलाई सेवा लिन सहज वातावरण बनेको बताए। वडा नं ६ का वडाध्यक्ष मदन गुरुङ ले वडा नं ८ लाई आफ्नै भवनबाट सेवा सुरु गरेकोमा बधाई दिए ।
वडा नं ८ का पूर्व वडाध्यक्ष पदमसुन्दर पालुङ्वा ले आफ्नो कार्यकालमा सडक निर्माण र नगरपालिकाको प्रमुख प्रशासकीय भवनसहित केही वडाका भवन निर्माण भएको स्मरण गर्दै वर्तमान नेतृत्वले बाँकी कामलाई पूर्णता दिइरहेको बताए ।
सो अवसरमा सेवा निवृत्त कर्मचारी हरिप्रसाद बराल र पूर्णबहादुर सुनुवार, पदोन्नति भएर सरुवा भएका कर्मचारी पदम गुरुङ तथा भवन निर्माणका लागि तीन रोपनी जग्गा निःशुल्क उपलब्ध गराउने स्वर्गीय वीरबहादुर सुनुवारका परिवारलाई सम्मान गरिएको थियो।
वीरबहादुरका श्रीमती सावित्रा सुनुवार तथा छोरा–बुहारीहरूले भवन निर्माणका लागि जग्गा उपलब्ध गराएको उल्लेख गर्दै उनीहरूको योगदानको कदर गरिएको थियो।
प्रकाशित: १० फाल्गुन २०८२ १७:२७ आइतबार





