मकवानपुरको हेटौंडास्थित महेन्द्र राजमार्गमा विद्युतीय (ईभी) गाडीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका पर्साको वीरगञ्ज महानगरपालिका-३२ का ५० वर्षीय वीरेन्द्र पासवानको उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरीका अनुसार मंगलबार राति करिब पौने १० बजे नारायणघाटबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०६-००१ ज.०३२९ नम्बरको खाली ईभी गाडीले पैदल हिँडिरहेका पासवानलाई ठक्कर दिएको थियो। उक्त दुर्घटना हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित राप्ती खोला नजिकैको बुद्ध पार्क अगाडि भएको हो।
दुर्घटनालगत्तै अस्थायी प्रहरी पोष्ट थानाभर्याङबाट खटिएको ट्राफिकसहितको टोलीले घाइतेको उद्धार गरी हेटौंडा अस्पताल पुर्याएको थियो। गाडीको ठक्करबाट उनको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो।
हेटौंडामा प्रारम्भिक उपचारपछि अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारका लागि बुधाबार १२:०५ बजे वीरगञ्जस्थित वयोधा अस्पताल रिफर गरिएको थियो।
उनका दाइ सुरेन्द्र पासवानसमेतको संलग्नतामा उपचार भइरहेको अवस्थामा १:४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
पैदलयात्रीलाई ठक्कर दिने ईभी र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका-७ बस्ने ३३ वर्षीय बुद्धिलाल थिङ रहेका छन्।
हाल उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १७ भाद्र २०८३ २१:२२ बुधबार





-600x400.jpg)