२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

काभ्रे विपद्को एक वर्ष : तीन हजारलाई अस्थायी आवास अनुदान

विसं २०८१ असोजको विपद्मा आवास गुमाएका जिल्लाका पीडितहरूको अस्थायी आवास निर्माणका लागि सरकारले पहिलो किस्ताको रकम उपलब्ध गराएको छ। जिल्लाका १३ स्थानीय तहका ३१२८ पीडितलाई पहिलो किस्ताबापत ७ करोड ७९ लाख २५ हजार राहत दिइएको हो।

दोस्रो किस्ताका लागि कार्यालयको खातामा निकासा भएको करिब ४ करोड अधिकांश स्थानीय तहले माग नगर्दा थन्किएको छ। दुई तहले मात्र दोस्रो किस्ताको रकम कार्यालयसँग माग गरी पीडितलाई वितरण गरेको जनाइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार हालसम्म बेथानचोक र रोशी गाउँपालिकाले दोस्रो किस्ताको रकम लगेका छन्।

सरकारले पहिलो किस्तामा २५ हजार र दोस्रो किस्तामा २५ हजार गरी प्रतिघरपरिवार अस्थायी आवास निर्माणका लागि ५० हजार उपलब्ध गराउने कार्यविधि बनाएको थियो। कार्यालयका अनुसार दोस्रो किस्ताको रकम बेथानचोकले १९६ र रोशी गाउँपालिकाले ४६१ घरपरिवारलाई १ करोड ६४ लाख २५ हजार दिइएको छ।

पहिलो किस्ताको अनुदान पाउनेमा धुलिखेल नगरमा ९०, बनेपामा ४१, पनौतीमा ६३४, पाँचखालमा ८८, मण्डनदेउपुरमा १३३, नमोबुद्धमा ८८४ परिवार छन्। यस्तै चौँरीदेउराली गाउँपालिकामा २८०, खानीखोलामा ५३, रोशीमा ५४८, भुम्लुमा ४०, तेमालमा १४१, बेथानचोकमा २३९ र खानीखोलामा ५३ पीडित परिवार छन्।

यसैबीच २०८१ असोज दोस्रो साताको अविरल वर्षापछिको बाढीपहिरोबाट काभ्रेपलाञ्चोकमा क्षतिग्रस्त निजी आवासको विस्तृत क्षति आकलन (डिडिए) भइरहेको छ। क्षति आकलन सुरु भएको करिब ६ महिनामा रोशी गाउँपालिकाको मात्र डिडिए सकिएको जनाइएको छ। घटनाको एक वर्ष बित्दा पनि विविध कारणले क्षतिग्रस्त निजी आवास पुनर्निर्माण कार्य अलपत्र छ। तर, हालसम्म बाढीपहिरोबाट क्षति भएका निजी आवासको पूर्ण विवरण नहुँदा सरकारले पुनर्निर्माण कार्य अघि बढाउन नसकेको जनाइएको छ।

गत चैत अन्तिम साता जिल्लामा सबैभन्दा बढी जनधनको क्षति व्यहोरेको रोशी गाउँपालिकाबाट निजी आवासको विस्तृत क्षति आकलन सुरु भएको थियो। तत्कालीन गृह मन्त्री रमेश लेखकले रोशी गाउँपालिका-२ नारायणटारबाट यसको सुरुआत गरेका थिए। स्थायी घर निर्माणका लागि सरकारको तर्फबाट क्रमशः अनुदान दिन जिल्लामा विस्तृत क्षति आकलनका लागि १८ प्राविधिक खटाइएको छ। निजी आवासको विस्तृत क्षति आकलनको सहजीकरणका लागि स्थानीय जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारीलाई विशेष रूपमा ध्यानाकर्षण गराइएको छ।

काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये बढी जनधनको क्षति पुगेको नमोबुद्ध नगर, पनौती नगर, बेथानचोक, तेमाल, भुम्लु, खानीखोला, महाभारत गाउँपालिकालगायतका प्रभावित स्थानीय तहको विस्तृत क्षति आकलनको पूर्ण तथ्याङ्क आउन सकेको छैन।

उक्त बाढीपहिरोबाट काभ्रेपलाञ्चोकका ८१ जनाले ज्यान गुमाएका थिए। ६ जना अझै बेपत्तामा सूचीकृत छन् भने करिब १०० जना घाइते भएका थिए। रासस

प्रकाशित: ११ आश्विन २०८२ ०९:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App