२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
निर्वाचन विशेष

इलाम-१ मा २६ वर्षपछि कांग्रेसको जित: निश्कल राईमार्फत कांग्रेसको पुनरागमन

इलाम क्षेत्र १ मा नेपाली कांग्रेसका उम्मेदवार निश्कल राई विजयी भएका छन् । कांग्रेसलाई नै सबैभन्दा ठूलो क्षति गरेर बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको देशभर जितको लहर चलिरहेका बेला यो क्षेत्र भने कांग्रेसले २६ वर्षपछि आफ्नो पक्षमा फर्काउन सफल भएको हो ।  

३५ वर्षे राई १४ हजार ५ सय ४३ मतसहित विजयी भएका छन् । राईले यो मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ लिम्बूले १३ हजार ६ सय ३२ मत ल्याएका छन् । नेकपा (एमाले)का काजीमान कागते तेस्रो भए । उनले मत ११ हजार ९ सय ६६ ल्याएका छन् ।  

राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ९ हजार १ सय ६०, नेपाली कम्युनिस्ट पार्टीबाट रणबहादुर राईले ७ हजार ६ सय ६५, राष्ट्रिय प्रजातन्त्र पार्टीकी ज्वाला नेपालले ५ सय ७७, नेपाल मजदुर किसान पार्टीकी तुल्सीकेसरी प्रजापति (छुजु)ले ४४, उज्यालो नेपाल पार्टीका हरिबहादुर गुरुङले ४ सय ८१, मंगोल नेसनल अर्गनाइजेसनका बुद्धलाल मेचेले ८ सय १, नेपाल जनमुक्ति पार्टीका डम्बरसिंह लिम्बूले २२  मत ल्याएका छन् । नेकपा (माओवादी)का नारदमणि साम्पाङले १ सय ६५, जनता समाजवादी पार्टीका लीलाबहादुर सुनुवारले २ सय ९६ तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका रामप्रसाद लिम्बूले ३९ मत ल्याएका छन् ।  

विजयी राईलाई यस क्षेत्रका निर्वाचन अधिकृत खुमप्रसाद भण्डारीले प्रमाणपत्र प्रदान गरेका छन् । इलाम क्षेत्र १ मा ६३ हजार ६ सय ९५ मत खसेको थियो ।  

२०७९ सालको निर्वाचनमा इलाम क्षेत्र नम्बर १ मा तत्कालीन नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै नेकपा (एमाले)का महेश बस्नेत विजयी बनेका थिए । बस्नेतले २५ हजार ७ सय ५३ र खनालले २३ हजार ८९ मत ल्याएका थिए । २०५६ सालमा यो क्षेत्रमा कांग्रेसका बेनुपराज प्रसाईं खनाललाई नै हराएर विजयी बनेका थिए ।  

प्रतिनिधिसभा क्षेत्र १ मा सूर्योदय नगरपालिका, माई नगरका १, २, ३, ४, ५, ९ र १०, सन्दकपुर, रोङ र माइजोगमाई गाउँपालिका छन् । क्षेत्र १ मा ६३ हजार ६ सय ९५ मत खसेको थियो ।

को हुन् निश्कल ?

शिक्षा पृष्ठभूमिबाट राजनीतिमा आएका राईले व्यवस्थापन विषयमा स्नातकोत्तर हासिल गरेका छन् भने अर्थशास्त्रमा एमफिल अध्ययनरत छन् । शैक्षिक दक्षतासँगै संगठनात्मक अनुभव बोकेका राई नेपाली कांग्रेसको विभिन्न जिम्मेवारी सम्हाल्दै अहिले कांग्रेस इलाम क्षेत्र १ (२)को क्षेत्रीय सभापति पनि हुन् ।  

विद्यार्थी हुँदै राजनीतिक यात्रामा होमिएका राईले शिक्षण, सामाजिक सेवा र अन्तर्राष्ट्रिय अनुभवलाई राजनीतिक अभ्याससँग जोड्ने नेता हुन् । उनले काठमाडौंस्थित शंकरदेव क्याम्पसमा अध्यापन गरेका थिए । चुनावी अभियानमा उनले रोजगारी सिर्जना, सीप विकास, उद्यमशीलता प्रवद्र्धन तथा युवाको बढ्दो विदेश पलायन रोक्नुलाई मुख्य एजेन्डाका रूपमा प्रस्तुत गरेका थिए ।  

प्रकाशित: २५ फाल्गुन २०८२ १८:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App