चितवनमा मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। भरतपुर महानगरपालिका वडा नम्बर १५ स्थित भित्री सडक खण्डमा बिहीबार (आज) बिहान सात बजे टुरेचोकबाट सित्तल चोकतर्फ आउँदै गरेको ना ४ ख ४७७२ नम्बरको मिनी ट्रकले रामपुरबाट भरतपुरतर्फ जाँदै गरेको ना ४४ प १६३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा स्याङ्जा स्थायी घर भएका अन्दाजी २६ वर्षीय सुरज थापा रहेका छन्। मिनी ट्रकको ठक्करबाट गम्भीर घाइते भएका थापाको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा बिहान ८ः०६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले बताए।
यस्तै मोटरसाइकलकाे पछाडि सवार स्याङ्जाको हरिनास गाउँपालिका ४ स्थित २२ वर्षीया निरुता थापा गम्भीर घाइते भएकी छन्। अहिले दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा छन्। मिनीट्रक चालक तत्काल सम्पर्कमा नरहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: २९ माघ २०८२ ०८:५७ बिहीबार





