२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

आफू पराजित भएपछि पृथ्वीसुब्बाले भने: यो परिणामले देशमा समस्या निम्त्याउन सक्छ

प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएपछि नेकपा (एमाले)का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने बताएका छन्।

शनिबार प्रतिक्रिया दिँदै उनले नयाँ शक्तिको सम्भावित दुईतिहाइ बहुमतले राजनीतिक जटिलता सिर्जना गर्न सक्ने आशंका व्यक्त गरे।

उनले भने, “उहाँहरूको दुई तिहाइ बहुमत आउला जस्तो छ। यो नै हाम्रो मुलुकका लागि समस्या हुन सक्छ।”

गुरुङले प्राप्त मतलाई सुझबुझपूर्ण ढंगले सम्बोधन गर्न सुझाव दिँदै संविधान संशोधनका विषयमा स्पष्ट प्रतिबद्धता आवश्यक रहेको बताए।

“संविधान संशोधनबारे उहाँहरूको प्रतिबद्धता आउनु जरुरी छ। संघीयता खारेज गर्न खोज्या हो कि? समावेशी निर्वाचन प्रणालीबारे उहाँहरूको धारणा के हो?” उनले प्रश्न गरे।

राष्ट्रिय सहमतिविनै जबर्जस्ती निर्णय गर्न खोजिए मुलुक फेरि द्वन्द्वतर्फ धकेलिन सक्ने चेतावनी पनि उनले दिए। “राष्ट्रिय सहमतिको आधारमा बाहेक बलजफ्ती गर्न खोजियो भने मुलुकमा फेरि अर्को द्वन्द्व सुरु हुन्छ,” उनले भने।

यसपालिको निर्वाचनमा मतदाताले एजेण्डाभन्दा ‘नयाँ’ भन्ने नारामा बढी मत दिएको टिप्पणी गर्दै गुरुङले विकास, सुशासन र राष्ट्रिय मुद्दामा पर्याप्त बहस नभएको बताए।

“हरेक निर्वाचनको आफ्नो एजेण्डा हुन्छ—राष्ट्रियता, विकास, सुशासन र संविधान सम्बन्धी दलहरूको धारणा हुन्छ,” उनले भने, “तर यसपटक जनताका समस्या समाधानका विषयमा बहस भएन। विकास र सुशासनको एजेण्डा के हो भन्नेमा पनि स्पष्ट छलफल भएन। खालि नयाँ भनेर मात्रै पुग्दैन।”

संविधान कार्यान्वयन र राष्ट्रिय मुद्दाहरूमा सबै दलहरूको सहमतिका आधारमा मात्र निर्णय लिनुपर्नेमा उनले जोड दिएका छन्।

 

प्रकाशित: २३ फाल्गुन २०८२ १७:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App