राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन क्षेत्र नम्बर ३ बाट विजयी भएसँगै सोविता गौतमले नागरिक सचेत हुँदा र शालीन रूपमा परिवर्तनको माग गर्दा परिवर्तन सम्भव भएको र यही कुरा यो निर्वाचनले देखाएको बताएकी छिन्।
प्रतिनिधिसभा सदस्यमा चितवन क्षेत्र नम्बर ३ बाट अत्यधिक मतसहित विजयी भएकी गौतमले जनताले गरेको यो विश्वासलाई संसदमा पुगेर दीर्घकालीन रूपमा नेपाली जनताको समस्या समाधान हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
निर्वाचन परिणाम सार्वजनिक भएपछि समर्थक र मतदातासँग उनले आफूहरू केवल एउटा सिट जित्न वा संसदमा माइक समात्नका लागि मात्रै चुनाव लडेको नभई सरकार निर्माण गर्ने हैसियतका साथ संसदमा जाने लक्ष्यसहित अघि बढेको बताइन्।
उनले भनिन्, ‘हामी संसदमा केवल एउटा सिट जित्नका लागि होइन, सरकार निर्माण गर्ने हैसियत लिएर जान चाहन्छौँ। ताकि नीति निर्माण गर्दा दीर्घकालीन रूपमा नेपाली जनताको समस्या समाधान हुने गरी काम गर्न सकियोस्।’ उनले जनताले देखेको सपना र विश्वासलाई कायम बताएकी छिन् ।
‘तपाईँहरूले दिनुभएको मत केवल मत होइन, यो तपाईँहरूको आशा, विश्वास र जिम्मेवारी हो। त्यो विश्वासलाई कायम राख्ने दायित्व अब हाम्रो काँधमा आएको छ,’ उनले भनिन्। गौतमले लोकतान्त्रिक प्रणालीमा निर्वाचन सुन्दर अभ्यास भएको भन्दै देश निर्माणको लक्ष्य सबैको साझा भएको बताएकी छिन्।
प्रकाशित: २३ फाल्गुन २०८२ १६:४५ शनिबार





