नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आङ्बोले संसदीय दलका नेताको हैसियतले प्रयोग गर्दै आएको सरकारी गाडीले विराटनगरबाट विराट चोकतर्फ जाँदै गर्दा ठक्कर दिएपछि बिहीबार मोरङमा एक जना पुरुषको मृत्यु भएको हो ।
दुर्घटना भएका बेला गाडीमा उनी सवार थिएनन् । आङ्बोका आफन्तलाई लिनका लागि जाँदै गरेका बेला गाडीले दुर्घटना गराएको प्रहरी स्रोतले बतायो ।
विराटनगर–विराट चोक सडक खण्डअन्तर्गत ग्रामथान गाउँपालिका–५ ककडमाडीमा दिउँसो सवा १२ बजेतिर ठक्कर दिँदा स्थानीय ३५ वर्षीय प्रवेश चौधरीको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुँडालले जानकारी दिइन् ।
उनका अनुसार विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको आङ्बो चढ्दै आएको कोशी प्रदेश सभाको को १ झ ६५० नम्बरको गाडीले बाटो काट्दै गरेको को ९ प ७९ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो । गाडीको ठक्करबाट घाइते मोटरसाइकल चालक चौधरीलाई तत्कालै उपचारका लागि विराटनगरको विराट नर्सिङ होम पठाएको र उपचारका क्रममा अपराह्न सवा ३ बजेतिर मृत्यु भएको डिएसपी चुँडालले बताइन् ।
डिएसपी चुँडालका अनुसार मोटरसाइकललाई ठक्कर दिने गाडी र चालक पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ का ४० वर्षीय गम्भीरमान सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।
स्थानीयका अनुसार तीव्र गतिमा रहेको गाडीले मोटरसाइकलको पछाडि ठक्कर दिँदा चालक चौधरी गम्भीर घाइते भएका थिए । उनलाई स्थानीयले उद्धार गरेर उपचारका लागि विराट नर्सिङ होम पठाएको बताइएको छ । माओवादी कोशी प्रदेश संसदीय दलका नेता आङ्बो प्रदेशका पूर्वआर्थिक मामिला तथा योजना मन्त्रीसमेत हुन् ।
प्रकाशित: २७ कार्तिक २०८२ १८:२२ बिहीबार





-1200x560-600x400.jpg)