२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

जीप दुर्घटना हुँदा एक बालिकाको मृत्यु, आठ घाइते

कञ्चनपुरको बेदकोट नगरपालिका–३ सिउडीबागमा मंगलबार बोलेरो जीप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।  

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार दैजी–जोगबुढा सडकखण्डमा दैजीबाट जोगबुढातर्फ जाँदै गरेको से१ज ४१७ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो । जीप सडकबाट करिब २० मिटर तल खसेको थियो ।  

दुर्घटनामा कञ्चनपुरको बेदकोट नगरपालिका–४ की करिब दुई वर्षीया बालिका युबिका पालको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक बोहराले बताए । अन्य घाइतेहरुको सोही अस्पतालमा उपचार भइरहेको छ । 

घाइते हुनेमा कृष्णपुर–१ वाणीकी ३३ वर्षीया धना बोहरा र उहाँका चार वर्षीय छोरा कमल बोहरा,  बेदकोट–४ की ३० वर्षीया तारा पाल, उहाँका १० वर्षीय छोरा प्रिन्स पाल र स्थानीय ३५ वर्षीया देविन्द्र धामी घाइते भएका छन् । यस्तै, डडेल्धुराको परशुराम नगरपालिका–११ का २४ वर्षीय वीरेन्द्र कुँवर, उहाँकी २१ वर्षीया पत्नी मनिषा कुँवर र सोही नगरपालिकाका २८ वर्षीय नरेश सार्की घाइते हुनुभएको छ ।  

दुर्घटनापछि चालक  फरार रहेका छन् । जीपमा चालकसहित १० जना सवार रहेका थिए ।  

प्रकाशित: १४ आश्विन २०८२ २२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App