काठमाडौं क्षेत्र नम्बर-९ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल फराकिलो मतान्तरसहित विजयी भएका छन्।
उनले नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई निकै ठूलो अन्तरले पछाडि पार्दै सानदार जित दर्ता गराएका हुन्।
अन्तिम मतपरिणाम अनुसार विजयी उम्मेदवार अर्यालले ३५ हजार १३ मत प्राप्त गरेका छन्।
दोस्रो स्थानमा रहेकी उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार नानुमैया बास्तोलाले ५ हजार ४ सय ६० मत मात्र ल्याउन सकेकी छन्।
विजयी अर्याल र कांग्रेस उम्मेदवार बास्तोलाबीचको मतान्तर २९ हजार ५ सय ५३ रहेको छ।
यस निर्वाचन क्षेत्रमा नेकपा एमाले तेस्रो स्थानमा खुम्चिएको छ। एमालेका उम्मेदवार अजयक्रान्ति शाक्यले जम्मा ४ हजार ५ सय ८० मत प्राप्त गरेका छन्।
त्यसैगरी, अन्य दलहरूको अवस्था झनै कमजोर छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दिलकुमार कार्कीले ९ सय ५९ मत हासिल गरेका छन्। त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार राधाकृष्ण महर्जन जम्मा ७ सय ४७ मतसहित पाँचौं स्थानमा रहेका छन्।
प्रकाशित: २३ फाल्गुन २०८२ ०४:४४ शनिबार





