काठमाडौं महानगरपालिकाको वडा नम्बर-२६ लैनचौरबाट एनएफसी (नियर फिल्ड कम्युनिकेसन) चिप्स प्रविधिमा आधारित ‘स्मार्ट’ डिजिटल ठेगाना प्रणाली जडान सुरु भएको छ।
अब घरको ठेगाना पाउन फोटो पठाए वा क्यूआर कोड स्क्यान गरे मात्र पुग्छ।
लैनचौरस्थित वडा कार्यालयमा ‘०९–लक्ष द्रव्य ६१११’ नम्बरको प्लेट जडान गर्दै वडाध्यक्ष एवं महानगरको सुशासन समितिका संयोजक ख्यामराज तिवारीले बुधबार यो प्रणालीको शुभारम्भ गरेका हुन्।
करिब दुई दशकदेखि प्रचलनमा रहेको मेट्रिक ठेगाना प्रणालीलाई रूपान्तरण गर्दै वडाले यो प्रविधि-मैत्री प्रणाली अपनाएको हो। ४५ लाख रुपैयाँको लागतमा सुरु भएको यो परियोजना अन्तर्गत वडाका ६ हजार ८५० घरमा २०८२ कार्तिक मसान्तभित्र प्लेट जडान गरिसक्ने योजना छ।
कसरी काम गर्छ ‘स्मार्ट ठेगाना’ ?
एलमुनियममा लेजरले खोपेर तयार गरिएको यो ठेगाना प्लेटमा क्युआर कोड, एनएफसी चिप्स, नेपाली स्थानीय कोड र युनिभर्सल गुगल प्लस कोड समावेश छ।
‘प्लेट जडान भएका घरधनीले कसैलाई आफ्नो ठेगाना दिन प्लेटको फोटो पठाए मात्र पुग्छ,’ वडाध्यक्ष तिवारीले भने, ‘त्यसमा भएको क्युआर स्क्यान गरेपछि सजिलै लोकेसनमा पुग्न सकिन्छ।’
यो ठेगाना प्लेटमा खानेपानी, बिजुली, इन्टरनेट जस्ता सेवाको ग्राहक नम्बर समेत राखिएको छ। यसमा रहेको यूनिक आइडी नम्बर अफलाइनमा समेत खोज्न मिल्ने गरी बनाइएको छ।
यो प्रणाली ठेगाना देखाउनमा मात्र सीमित छैन। प्लेटमा रहेको क्युआर कोडलाई डिजिटल डोरबेल, फोहोर संकलनको जानकारी प्रवाह, स्थानीय सर्वेक्षण र सूचना प्रवाह जस्ता कामका लागि समेत प्रयोग गर्न सकिनेछ।
‘यो काम विद्युतीय शासनका लागि महत्वपूर्ण आधार हो,’ वडाध्यक्ष तिवारीले भने, ‘विद्युतीय शासनको पहिलो पूर्वाधार नै सेवाग्राहीको घर र ठेगाना प्रणाली हो। यसबाट शासन प्रणालीमा नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गराउन सकिन्छ।’
वडा सचिव केदार रिमालका अनुसार यो प्रणालीले सेवा प्रवाह र राजस्व संकलनलाई ‘स्मार्ट’ बनाउनुका साथै प्रकोपका समयमा घटनास्थलमा छिटो पुग्न, खोज, उद्धार र राहतका काम गर्न समेत महत्वपूर्ण सहयोग पुर्याउनेछ।
यो प्रविधि सफल भएपछि महानगरका अन्य वडाहरूमा पनि विस्तार गरिने योजना छ।
प्रकाशित: ३० आश्विन २०८२ ०६:५५ बिहीबार





