सर्वोच्च अदालतको आदेशमा हिरासतबाट मुक्त भएका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आसन्न निर्वाचन बहिष्कार गर्न अपिल गरेका छन्।
बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट छुट्नासाथ सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईंले यो निर्वाचन देशको हितमा नभएको दाबी गर्दै भोट हाल्न नजान आग्रह गरेका हुन्।
प्रसाईंले भने, ‘यदि तपाईंहरू साँच्चै भात खाने नेपाली जनता हो भने यो चुनावमा भोट हाल्न नजानुस्, घरमै बस्नुस्। अरु नै चिज खाने र अर्काले दिएको खानेहरू मात्र भोट हाल्न जान्छन्।’
उनले अहिलेको निर्वाचन देश सिध्याउने षड्यन्त्र भएको दाबी गरे। ‘यो चुनाव भएको दिनदेखि नेपाल युक्रेनको बाटोमा जाँदैछ,’ प्रसाईंले भने, ‘देश सिध्याउने डिजाइन अन्तर्गत हुन लागेको चुनावमा सहभागी भएर साक्षी नबस्नुस्।’
निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन गरिएको विषयमा पनि प्रसाईंले आपत्ति जनाए। ‘एक महिना अगाडिदेखि सेना किन ब्यारेकबाट निकालियो ? के हतियार र बर्दी देखाएर चुनाव गराउन खोजिएको हो ?’ उनले प्रश्न गरे।
प्रसाईंले नेपाली सेना र नेपाल प्रहरीलाई कुनै अमुक दल वा नेताको आदेश मान्नुभन्दा देश र जनताको पक्षमा उभिन आग्रह गरे। उनले भने, ‘हिजो दरबार र राजा सकिँदा चुप लागेको सेनाले अब देश युक्रेन बन्न लाग्दा पनि टुलुटुलु हेरेर बस्न मिल्दैन।’
आफूलाई गैरकानुनी रूपमा थुनामा राखिएको बताउँदै उनले सत्य बोल्दा फेरि पक्राउ पर्न पनि आफू तयार रहेको बताए। ‘मलाई फेरि पनि समात्न सक्छन्, म तयार छु। तर मेरो आँखाबाट आँसु झर्दैन, देशको अवस्था देखेर हृदय भने फुटेको छ,’ उनले भने।
सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले प्रसाईंलाई थुनामा राख्ने प्रक्रिया कानुनसम्मत नदेखिएको भन्दै मंगलबार नै रिहा गर्न आदेश दिएको थियो।
सोही आदेशबमोजिम प्रक्रिया पूरा गरी उनी आज रिहा भएका हुन्।
प्रकाशित: १३ फाल्गुन २०८२ १५:०२ बुधबार





